top_rightads

नेदरल्यान्ड्सविरुद्व हुने विश्व क्रिकेट लिग च्याम्पियन्स लिगमा नेपाललाई मौसमको चिन्ता

श्रावण २८, २०७३- नेदरल्यान्ड्सविरुद्व हुने विश्व क्रिकेट लिग च्याम्पियन्स लिगको खेलमा नेपालले पुनरागमन गर्नेमा प्रशिक्षक जगत टमाटा विश्वस्त छन् । नेपालले शनिबार र सोमबार च्याम्पियनसिपको खेलमा प्रतिस्पर्धा गर्नेछ ।
बिहीबार सालान्डमा भएको नेदरल्यान्ड्स ‘ए’ सँगको अभ्यास खेलमा नेपाल ३१.४ ओभरमा ८८ रनमा अलआउट भएको थियो । नेदरल्यान्ड्सको राष्ट्रिय टिमका ६ खेलाडी रहेको ‘ए’ टिमविरुद्ध नेपाल कमजोर बनेको थियो । त्यसमा प्रमुख ब्याट्सम्यान बेन कुपर पनि थिए । कुनै पनि ब्याट्सम्यानले दिगो खेल्न नसक्दा च्याम्पियनसिपको महत्त्वपूर्ण खेल अगाडि नेपालको चिन्ता बढेको हो ।

         अभ्यास खेलमा बिहीबार रन लिने प्रयासमा सागर पुन ।
नेदरल्यान्ड्सको बदलिँदो मौसममा नेपाललाई खेल्न कठिन भएको र महत्त्वपूर्ण खेलमा राम्रो खेल्ने दाबी प्रशिक्षक टमाटाको छ । नेदरल्यान्ड्स ‘ए’ सँगको खेल नेपालले १० डिग्री, हावा र वर्षाले प्रभावित गरेको अवस्थामा खेलेको थियो, जसमा नेपालले नियमित जस्तो विकेट गुमाइरह्यो ।
‘यो परिस्थितिमा खेल्न गाह्रो भइरहेको छ, १० डिग्रीमा खेल्नुपरेको छ,’ टमाटाले कन्डिसनका कारण खेल्न नसकेको स्वीकार्दै भने, ‘मौसम कुनै पनि समय एकरूप छैन । बल निकै मुभ भइरहेको छ, यो हिसाबले हामीलाई मात्र होइन, विपक्षीलाई पनि गाह्रो हुन सक्छ ।’
नेदरल्यान्ड्समा शनिबार र सोमबार घाम लाग्ने भविष्यवाणी गरिएको छ । टमाटाले मौसमतर्फ नै केन्द्रित हुँदै भने, ‘हामी निश्चय पनि पुनरागमन गर्छौं । खेलको दिन कस्तो मौसम हुन्छ त्यसमा धेरै भर पर्छ । नेदरल्यान्ड्स ‘ए’ सँग हामी पानीले गर्दा केन्द्रित हुन सकेनौं । तर हामी लयमै छौं, राम्रो क्रिकेट खेल्नेछौं ।’
कार्यवाहक कप्तान ज्ञानेन्द्र मल्ल ५, अर्का ओपनर अनिल मण्डल ६, शरद भेषावकर ४ र राजु रिजाल १२ रनमा आउट भएपछि नेपालमाथि दबाब परेको थियो । त्यसपछि सागर पुन ११, राजेश पुलामी १, सोमपाल कामी १० र विनोद भण्डारी १५ रनमा आउट भए । वसन्त रेग्मीले खाता खोल्न सकेनन् भने विक्रम सोब २ रनमा रनआउट भए । सोमपालले पहिलो ओभरमै विकेट लिएका थिए । टमाटा यसैमा सकारात्मक पक्ष खोज्छन् । नेदरल्यान्ड्स ‘ए’ ले ५ ओभरमा ११ रन बनाएको समयमा वर्षाका कारण खेल स्थगित भएको छ ।
‘ब्याटिङमा कन्डिसनले गर्दा केही चिन्ता गर्नुपर्ने स्थिति छ । मौसमले गर्दा गाह्रो भइरहेको छ । तर पनि हामी २ सय ४० रनसम्म बनाउन सक्छौं । तर त्यहाँसम्म पुग्न इनिङ्स अगाडि बढाउन जरुरी छ, त्यो अहिलेको मुख्य विषय हो,’ टमाटाले भने, ‘बलिङ हाम्रो त्यसै पनि राम्रो छ ।’
नियमित कप्तान पारस खड्का ‘टेनिस एल्बो’ र भेट्रान शक्ति गौचन पेटको समस्याका कारण खेलेका थिएनन् । ‘एक हिसाबले हामीले उनीहरूलाई आराम मात्र दिएका हौं । एकदम सामान्य हो,’ टमाटाले भने । नेपाली टिम शनिबार नेदरल्यान्ड्स आइपुगेको हो । त्यसयता नेपालले भीआरए मैदानमा अभ्यास गरिरहेको छ । नेपाल र नेदरल्यान्ड्सबीचको च्याम्पियनसिप खेल त्यही मैदानमा हुनेछ ।
-ekantipur

0 comments

Write Down Your Responses