ओलीले भने– ‘संवैधानिक रिक्तता निम्त्याउने षड्यन्त्र भइरहेछ’
पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले मुलुकलाई फेरि संवैधानिक र राजनीतिक रिक्ततामा पुर्याउने षड्यन्त्र भइरहेको दाबी गरेका छन् । त्यही षड्यन्त्र पूरा गर्न बिना कारण सरकार परिवर्तन गरिएको उनको आरोप छ ।
पार्टी कार्यालय धुम्बाराहीमा प्रेस चौतारीको अन्तरसंवादमा उनले २०७४ माघ ७ भित्र नयाँ संसद बन्न नसके मुलुकमा संवैधानिक र राजनीतिक रिक्तता आउने र राजनीति त्यही दिशातर्फ लैजान खोजिएको दाबी गरे । ‘उचित दिशामा भन्दा देशलाई वैमनस्यतिर लैजान खोजिएको छ,’ ओलीले भने, ‘सरकार परिवर्तन गर्ने आवश्यकता थिएन, समृद्धि विकास गर्न नसकेको आधारमा होइन मुलुकलाई संवैधानिक र राजनीतिक रिक्ततामा पुर्याउने षड्यन्त्रअनुसार सरकार परिवर्तन गर्न खोजियो ।’
झन्डै एक घण्टा बोलेका ओलीले भारत–चीनसँगको सम्बन्धदेखि मधेसी दलहरूसँग माओवादी केन्द्र र कांग्रेसले गरेको सहमतिसम्मका विषयमाथि टिप्पणी गरे । उनले कुन दलले कहाँ के/के विषयमा सहमति गर्छन् त्यसको जिम्मेवारी लिन आफूहरू बाध्य नभएको बताए ।
संविधान आवश्यकता र औचित्यका आधारमा संशोधन हुने दस्तावेज भएको ओलीको कथन थियो । ‘एमाले कुनै त्रास र लोभमा पर्दैन, आग्रहहीन ढंगले चल्छ, आवश्यकता र औचित्यतापूर्ण आधार भए संविधान संशोधन हुन सक्छ,’ अध्यक्ष ओलीले भने, ‘यो लिखित रूपमा म्यादी सरकार बनेको छ, यसले धेरै कागजमा ल्याप्चे ठोकेको छ ती सबै हामीले मान्नुपर्छ भन्ने छ र ?’
उनले संविधान संशोधन केका लागि आवश्यक छ भनेर भन्न सक्नुपर्ने बताए । ‘केपी ओलीविरुद्ध भोट हाल्न पाए जे पनि गर्छौं भन्दै हिँड्ने र गर्ने व्यक्तिहरू छन्,’ उनले भने, ‘रिमोट कहाँबाट चल्छ भन्ने थाहा भएपछि त्यसबाट कुन च्यानल आउँछ भन्ने कुरा एमालेलाई धेरै चासो हुने भएन ।’
उनले एमालेले प्रतिशोधको राजनीति नगर्ने तर मुलुकप्रति जिम्मेवार भूमिका खेल्न पछि नहट्ने उल्लेख गरे । नेपालविरुद्ध नै षड्यन्त्र गर्ने प्रयास भइरहेको र त्यसलाई सफल पार्न एमालेमाथि प्रहार गर्न थालिएको उनको भनाइ थियो । ‘केपी ओलीको तेजोबध नगरी एमालेलाई कमजोर नपारी षड्यन्त्र गर्न सकिँदैन भन्ने थाहा छ,’ ओलीले भने, ‘त्यसैले एमालेमाथि प्रहार केन्द्रित भएको छ तर हामी कसैले बनाइदिएर भएका होइनौं ।’
उनले मधेसलगायत आन्दोलनमा मारिएकालाई १० लाख दिने सरकारको निर्णयलाई ‘तमासा’को संज्ञा दिए । आफ्नो सरकारले यसअघि दिने निर्णय गरी सम्बन्धितका परिवारले पैसा बुझिसकेको अव्वस्थामा जनतालाई झुक्याउने गरी फेरि निर्णय गरियो भन्ने प्रचार गरिएको ओलीले उल्लेख गरे । मधेसी दलहरूले घाइतेको उपचार खर्च व्यक्ति होइन, पार्टीलाई दिनुपर्छ भन्ने माग राखेको भन्दै उनले घाइतेलाई दिने रकम पार्टीले माग्न नसुहाउने बताए ।
‘हिजो एमालेलाई बदनाम गराउन ‘टीएन प्रधान, रमेश प्रधान’ नाममा काण्ड रच्नेहरू नाङलो, कुचो हरायो भनेर कथा बुन्दैछन्, जबकि मैले बरबुझारथ गरेर हिँडेको छु, प्रधानमन्त्री मात्र होइन मन्त्री बन्दा पनि मैले उचित समयमा बरबुझारथ गरी क्वार्टर छोडेको थिएँ,’ उनले भने । एमाले फुटेको बेलामा मदन भण्डारीको हत्यामा नेताको नाम जोडेर तत्कालीन माओवादी मुखपत्रहरूमा टीएन प्रधान, रमेश प्रधानको नाममा लेखहरू प्रकाशित हुने गर्थे । उक्त लेखकको नाममा छापिने तस्बिर भारतीय लेखक कुलदीप नायरको भएको खुलेपछि यो प्रकरण समाप्त भएको थियो । अहिले पनि हुँदै नभएको गलत प्रचार गर्ने काम भएको भन्दै ओलीले पुरानो प्रसंग ओलीले जोडेका थिए ।
ओलीले संसदीय सुनुवाइ प्रक्रियामा रहेका राजदूतहरूको सुनुवाइ नगर्नु अराजनीतिक, गैरकानुनी र प्रतिशोधपूर्ण भएको टिप्पणी गरे । उनले संसदीय समिति पनि अपारदर्शी र अनुचित साँठगाँठमा चलाउन खोजिएको हो कि भन्ने आशंका पैदा भएको बताए । ‘सरकारले राजदूतलाई राम्रो गरेन भने फिर्ता बोलाउन सक्छ, तर संसदीय सुनुवाइ प्रक्रिया नै रोक्ने त्यसमा पनि सरकारको पत्र नआउँदै समितिले प्रक्रिया अघि नबढाउनु अराजनीतिक हर्कत हो,’ ओलीले भने ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा प्रधानमन्त्री निर्वाचन हुने दिन एमालेका माधव नेपाल, झलनाथ खनाल र ओली तीन जनालाई नै आफूले प्रधानमन्त्री बनाइदिएको भनेर दिएको अभिव्यक्तिप्रति पनि ओलीले आपत्ति जनाए । ‘प्रधानमन्त्री भनेको के हो भनेर पहिलो पटक उहाँलाई बोकेर त्यो पदमा पुर्याइदिने चाहिँ को हो ?’ ओलीले भने, ‘अहिले माओवादीले जहाँ जे महत्त्वपूर्ण ठाउँ प्राप्त गरेको छ, त्यो सबै एमालेले गर्दा पाएको हो कि एमालेसँग बेइमानी गर्दा पाएको हो ?’
0 comments
Write Down Your Responses