नेपाली युवालाई बीपीको सम्बोधन- यो देश तपाईं अनि मेरो हो
वि.सं. २०१७ साल पुस १७ गते जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई पदच्युत गर्दै राजा महेन्द्र शाहले शासन सत्ता आफ्नो हातमा लिएका थिए। त्यसपछि ३० वर्षसम्म नेपालमा दलविहीन पञ्चायती व्यवस्था लागू भएको थियो। राजा महेन्द्र र बिपी कोइरालाको सत्ता–सङ्घर्षबारे थुप्रै अध्ययनहरु भएका छन्। पदच्युत हुनुभन्दा दुई महिनाअघि भारतको बम्बई सहरमा पुगेर तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाले गरेको सम्बोधन कस्तो थियो? पढ्नुहोस् पूर्णपाठःबिपि कोइराला
प्यारा छात्र–छात्राहरू!
तपाईंहरूको यो सम्मेलनमा भाग लिन म आज काठमाडौंदेखि आउँदैछु। हुन त तपाईंहरूको स्नेहपूर्ण आग्रह थियो कि म तपाईंहरूको सम्मेलनमा भाग लिन यहाँ आऊँ तर मेरो स्वयम् पनि छात्र–छात्राहरूका बीच आफूलाई पाउन सदैव रहर रहन्छ। मेरो आफ्नो प्रवृत्ति शिक्षार्थीको जस्तो भएकोले युवक र छात्राहरूका बीच हुँदा मेरो मन रमाउँछ। यस प्रकार केही क्षणका लागि भए पनि विद्यार्थी जीवनका पुराना दिनलाई सम्झिँदै तारुण्यको प्रेरणा प्राप्त गर्ने मेरो प्रयत्न हुन्छ।
हिन्दुस्थानमा अध्ययनका लागि बसेका विद्यार्थीहरूको समुदाय ठूलो छ र यस प्रकारको सम्मेलनको आयोजनाको अर्थ यो ठूलो छात्र समुदायका बीच एकता स्थापित गर्ने र आपस्तमा विचारको आदान–प्रदानको एउटा माध्यम प्रस्तुत गर्नु हो। मेरो आफ्नो समयमा समाज या तत्कालीन सरकारले युवक र विद्यार्थीहरूप्रति आफ्नो उत्तरदायित्वको अनुभव गरेको थिएन। २००७ सालको क्रान्तिपछि शिक्षाको महत्व समाजलाई हठात् भएको जस्तो भयो र सरकारको दृष्टि पनि आफ्नो यो गुरुत्तम अभिभारापट्टि जान थाल्यो। अहिले ५ सय विद्यार्थीहरू विभिन्न छात्रवृत्ति प्राप्त गरेर विदेशमा अध्ययनका लागि बसेका छन् र आफ्नै व्यवस्था गरेर बस्ने विद्यार्थीहरूको संख्या त निकै पुगेको हुनुपर्छ। यति पनि यथेष्ट होइन र हामीले यसमा सन्तोष लिने काम पनि छैन। जुन परिमाणमा हामीले देश निर्माणको कार्यक्रमलाई प्रस्तुत गर्नु र कार्यान्वित गर्नुपरेको छ, त्यसका लागि अहिलेभन्दा १० गुणा अधिक छात्रवृत्ति प्रदान गरेर विद्यार्थीहरूलाई विभिन्न क्षेत्रमा तालिम प्राप्त गर्न बाहिर पठाउनुपर्छ।
यसै अवधिमा आफ्नो देशभित्र नै शिक्षाको व्यवस्थामा उन्नति गर्दै समाजको शैक्षिक आवश्यकता विस्तारै विस्तारै पूर्ण गर्ने प्रयत्न हुनुपर्दछ। मेरो भनाइको तात्पर्य के भने समाजको उन्नतिको क्रान्तिकारी आवश्यकताअनुरूप समाज र सरकारले विद्यार्थीहरूको शिक्षाको महत्वलाई अनुभव गर्दै आएको छ र यो नयाँ स्फुरण २००७ सालको क्रान्तिको देन हो। मेरा समयका नवयुवकहरूभन्दा तपाईंहरू अधिक भाग्यवान हुनुहुन्छ, अधिक भाग्यवान् भएकोले अधिक जिम्मेदारी पनि तपाईंहरूमाथि पर्न आउने भएको छ। विदेशमा शिक्षा प्राप्त गरेर नेपालमा नयाँ समाज सृजना गर्ने अभिभारा तपाईंहरूले ग्रहण गर्नुपर्ने भएको छ। तसर्थ तपाईंहरूलाई प्राप्त भएको शिक्षाको अवसरलाई व्यक्तिगत स्वार्थको दृष्टिले नहेरेर सामाजिक स्वार्थको दृष्टिले हेर्नुपर्छ। मैले यहाँ यो सत्यलाई दोहर्याइरहनु पर्ने छैन कि समाजको सामूहिक स्वार्थ रक्षामा नै हामी तपाईं सबैको व्यक्तिगत स्वार्थ रक्षा निहित छ।
आज म तपाईंहरूलाई– तपाईंहरू जो विदेशमा आएर दुःखसुख गरेर विद्याध्ययन गरिरहनुभएको छ– मातृभूमि नेपालको केही सन्देश सुनाउन चाहन्छु। यो सन्देश हो– प्रजातन्त्रको र नवनिर्माणको। २००७ सालको क्रान्ति परिवर्तनोत्सुक नेपालको जनताको कस्तै बाधा विरोधको पर्वाह नगर्दै अगाडि बढ्ने दृढताको प्रथम चरण थियो। एकतन्त्री शासन व्यवस्थाले न केवल नागरिकहरूको व्यक्तिगत स्वतन्त्रता अपहरण गरेको थियो, यसले समाजका उन्नतिका यावत् मार्गहरूलाई पनि अवरुद्ध गरिराखेको थियो। आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, व्यक्तिगत वा सामूहिक जुनसुकै दृष्टिबाट विचार गर्दा पनि एकतन्त्री व्यवस्थाको परिणाम व्यापक ह्रास र अवनतिको थियो। आज जुन दुव्र्यवस्थामा हामी आफ्नो समाजलाई पाउँछौँ, त्यसको मुख्य कारण थियो एकतन्त्री जहानियाँ शासन। यदि १००/१५० वर्षको विश्व इतिहासका उपर साधारण दृष्टिपात गर्यौँ भने हामीलाई थाहा हुन्छ कि यो अवधिमा जब हामी तानाशाही व्यवस्थाको अन्तरका गर्तमा भास्सिरहेका थियौँ। त्यस समय दुनियामा विकासको लहर फैलिरहेको थियो र आज जुन राष्ट्रहरूलाई हामी उन्नत राष्ट्र भन्छौँ त्यही अवधिमा विकासको अवसरलाई अँगालेर ती राष्ट्रहरू अगाडि बढेका हुन्।
आज यदि हामी अउन्नत देशका नागरिक छौँ अथवा हामी अशिक्षित छौँ अथवा हामी अकिञ्चन छौँ भने त्यसको कारण तानाशाही व्यवस्था हो। जसले हामीलाई एक शताब्दीभन्दा बढी अवधिसम्म सङ्कुचित अवस्थामा राख्यो। नेपाली समाजमाथि सबैभन्दा ठूलो अन्याय र अत्याचार व्यक्तिगत स्वतन्त्रताको अपहरण मात्र होइन, व्यक्तिगत स्वतन्त्रता त २००७ सालपछि हामीले प्राप्त गर्दै आएका छौँ तथा आमनिर्वाचन र प्रजातान्त्रिक आधारमा बनेको सरकारको स्थापनाले धेरै मात्रामा प्राप्त गरिसकेको छौँ। एक सय वर्षको आर्थिक विकासको अवसरबाट समाजलाई वञ्चित राख्नु नै समाजको उपर त्यो ठूलो अन्याय भएको हो।
आज हामीहरूलाई आर्थिक विकासका लागि जुन घोर कठिनाइको सामना गर्नुपरेको छ तथा बारम्बार यो प्रश्न उठ्छ कि वर्तमान युगको चमत्कारपूर्ण प्रगतिमा, विकासको तीव्र प्रवाहमा के हामी आफूलाई उभ्याउन सकौँला? यो शङ्काको कारण शताब्दीभन्दा बढी अवधिसम्म गुमाएको अवसर हो। प्रजातन्त्रको आवश्यकता तपाईंहरू र मेरो व्यक्तिगत स्वतन्त्रताका लागि मात्र होइन, व्यक्तिगत स्वतन्त्रता प्रजातन्त्रको अत्यन्त ठूलो देन हो, यो सबैले स्वीकार गरेको सत्य हो। प्रजातन्त्रको महत्व अर्को दृष्टिबाट पनि छ। आर्थिक दृष्टिबाट प्रजातन्त्रको महत्व उत्तिकै छ। प्रजातन्त्रको यो पक्षपट्टि हामीहरूको विशेष ध्यान गएको छैन। त्यसो हुनाले तपाईंहरूको ध्यान यस दिशापट्टि जाओस् भन्ने हेतुले यस सम्बन्धमा मैले दुई/चार कुरा बोलेको हुँ।
२००७ को क्रान्तिपछि हाम्रो देशको विकासको क्रममा २०१५ सालको आमनिर्वाचन एउटा ऐतिहासिक घटना हो। २००७ सालको क्रान्तिले प्रजातन्त्रको स्थापना तथा विकासका लागि ढोका उघारेको जस्तो थियो, आमनिर्वाचनले प्रजातन्त्रको स्थापना गरेको छ। अब यो सबैको कर्तव्य हुन आएको छ कि भरखरै रोपिएको यो बिरुवालाई हुर्काउँदै लैजाऔँ। प्रजातन्त्रको यो बिरुवालाई संरक्षण गर्दै हुर्काउने प्रयत्न गर्दा यसमाथि बज्रन सक्ने प्रहार या कुन दिशाबाट यसलाई नष्ट पार्ने कामको योजना हुन सक्छ त्यसको ज्ञान हामीलाई प्राप्त हुन्छ। मलाई विश्वास छ, तपाईंहरू इतिहासको पक्षमा हुनुहुन्छ। तपाईंहरूमध्ये धेरैजसोले इतिहासको अध्ययन पनि गर्नुभएको होलाः इतिहास एउटा अतीतको कथा या पुराण मात्र होइन, यो भविष्यको निर्देशक पनि हो। ऐतिहासिक दृष्टिकोणलाई ग्रहण गरेर हाम्रो इतिहासको पक्षमा आफूलाई राख्न सक्छौँ।
२००७ को क्रान्ति इतिहासको एउटा घटना हो। यदि ऐतिहासिक शक्तिमा विश्वास राख्नुहुन्छ भने यो घटना त्यही शक्तिको एउटा लक्षण थियो, ऐतिहासिक शक्तिको परिचायक थियो। तपाईंहरू यसको पक्षमा हुनुहुन्छ कि हुनुहुन्न? जो यसको पक्षमा भएनन् समयले तिनीहरूलाई त्यागेर आफ्नो नगण्यताको सानो डाडुको तातो पानीमा डुब्न दियो। त्यस्तै आमनिर्वाचनको पक्षमा तपाईंहरू हुनुहुन्छ कि हुनुहुन्न? जो यसको पक्षमा थिएनन् तिनीहरूलाई पनि इतिहासको प्रवाहले अतीतको कुन तटमा छाडेर गएको छ। इतिहाससँग कदममा कदम मिलाएर हिंड्न सक्ने बानी हामीमा हुनुपर्छ। नयाँ कुरा यस्तै बानीले सृजना गर्छ। साहसले सोच्ने तथा साहसले काम गर्न सक्ने क्षमता यसबाट प्राप्त हुन्छ। क्रान्तिकारी विचार भनको पनि यही हो र तारुण्यको आफ्नो विशेषता पनि यसमा निहित छ। जब म तरुण या नवयुवकहरूलाई लक्ष्य गरेर केही भन्न चाहन्छु भने यही क्रान्तिको सन्देश, इतिहासको यही सन्देशलाई उनीहरूको सामुन्ने राख्ने इच्छा हुन्छ।
इतिहासले हाम्रो काँधमा २००७ को क्रान्तिको जिम्मेदारी बोकायो, त्यसपछि अन्तरिम कालमा क्रान्तिको देनलाई मास्ने प्रयत्नका विरुद्ध प्रजातन्त्रको भावनालाई जीवित राख्ने जिम्मेदारी हामीमा पर्न आयो, अनि एउटा निश्चित संविधानको मातहतमा देशको सर्वप्रथम आमनिर्वाचनद्वारा उत्तरदायी शासन व्यवस्था स्थापित गर्ने जिम्मा हामीले पायौँ। यी सबै कुरा त भए र यी सबै जिम्मेदारीहरू अत्यन्त महत्वपूर्ण जिम्मेदारीहरू हुन्। जतिसुकै महत्वको घटनाहरू अतीतमा घटेका हुन्, इतिहासको पानामा जतिसुकै उज्जवल अक्षरमा हामीहरूले आफ्नो कर्तव्यपालन गरेको उल्लेख होस्, वर्तमान र भविष्यको उत्तरदायित्वका सामुन्ने तिनीहरू केही होइनन्। इतिहासले हामीलाई विश्राम दिँदैन। सम्पन्न गरेका जिम्मेदारीको सुखद विचारमा आफूलाई भुलाउन थाल्यौँ भने इतिहासले हामीहरूलाई पनि त्यागेर अगाडि बढ्छ। तसर्थ अब आमनिर्वाचन र त्यस देशद्वारा स्थापित शासन व्यवस्थाले दिएको जिम्मेदारीलाई हामीले पूर्ण गर्नुछ।
मुख्यतः मेरो दृष्टिमा दुई प्रकारका उत्तरदायित्व हामीले अब व्यहोर्नुपरको छः
मुख्यतः मेरो दृष्टिमा दुई प्रकारका उत्तरदायित्व हामीले अब व्यहोर्नुपरको छः
१. सामन्ती व्यवस्थाको अन्त्य
२. औद्योगिक समाजको निर्माण
सामन्ती व्यवस्था पुरानो समाजको व्यवस्था हो। जमिनको स्वामित्वको आधारमा शोषणको अन्त्य गर्दै जमिनको यथार्थमा उपभोग गर्ने व्यक्तिहरू अर्थात् किसानको जमिनमाथिको अधिकारलाई सुरक्षित पार्ने लक्ष्यपट्टि हामीहरूले कदम चालिरहेका छौँ, यो एउटा ठूलो क्रान्तिकारी कदम हो। अहिले कायम रहेको जमिनको आधारमा बन्न गएका सम्बन्धहरू यो लक्षित क्रान्तिकारी कदमबाट छिन्नभिन्न हुन्छ। प्रत्येक गाउँमात्र के प्रत्येक परिवारमा यस कदमले प्रभाव पार्दछ। त्यसो हुनाले बिर्ताको उन्मुलन, अधिक जमिनमाथि लगाइएको करहरू, किसानलाई रसिद दिलाउने व्यवस्था जुन वर्तमान निर्वाचित सरकारद्वारा भएको छ, त्यसले बडो ठूलो उथलपुथल देशमा हुन थालेको छ। यो अगाडि बढ्ने प्रयत्नका विरुद्ध ठूला ठूला सङ्गठन हुँदैछन्, बिर्तावालहरू, भूपतिहरू, जमिनदारहरू इतिहासका विरुद्ध सङ्गठन गर्दैछन्। जस्तो मैले तपाईंहरूसँग पहिले केही प्रश्न गरेको थिएँ, यस सम्बन्धमा पनि म प्रश्न गर्न चाहन्छु– तपाईंहरू सामन्ती व्यवस्थाको अन्त्य गर्ने पक्षमा हुनुहुन्छ कि हुनुहुन्न? इतिहासको पक्षमा तपाईंहरू हुनुहुन्छ कि हुनुहुन्न? हामीले इतिहासको हतियार भएर आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। सामन्ती व्यवस्थाको अन्त्य समयको माग छ। यो इतिहासको लक्ष्यलाई कसले पूरा गर्छ? यदि हामीले गरेनौँ भने? साना साना राजारजौटाहरू पनि सामन्ती व्यवस्थाका प्रतीक हुन् र सामन्ती शोषणका केन्द्र। यिनीहरूको पनि अपेक्षा इतिहासलाई छैन।
अर्को उत्तरदायित्व हामीले वहन गर्नुपरेको छ– उत्पादनका साधनहरूको विकास गर्दै औद्योगिक समाजको निर्माणद्वारा जनताको जीवनस्तरमा बढाउनु हो। यो असाधारण जिम्मेदारी हो। पहिलेको व्यवस्थाले यदि हाम्रा लागि उपयुक्त साधन तयार पारिदिएको भए सायद आज हामीलाई यति कठिनाइको सामना गर्नुपर्ने थिएन। आज हामीले अरु मुलुकहरूमा १५०–२०० वर्षमा सम्पन्न गरेका विकासका कार्यहरूलाई २५/३० वर्षमा सम्पन्न गर्नुपरेको छ। अर्थात् २०० वर्षको लामो काललाई २० वर्षको अवधिमा छोट्याउन सक्नुपरेको छ। यसको के अर्थ हो? यसको अर्थ हो– नेपाली जातिले अरुभन्दा दशगुणा बढी परिश्रम र प्रयत्न गर्ने आवश्यकता। मरिमेटेर काम गर्ने समय छ। राष्ट्रको सम्पूर्ण शक्ति अविच्छिन्न रूपले केही कालसम्म विकासको यस भगीरथ प्रयत्नमा जोत्नुपरेको छ। राष्ट्रिय एकता, उत्साह, महान् लक्ष्यले प्रदान गरेको साहस, निस्वार्थ सेवा भावना आदि गुणको आवश्यकता छ, समाजमा। यो केवल नैतिक दृष्टिले मात्र होइन, शुद्ध व्यवहारिक दृष्टिले। वर्तमान पिंढीले आफ्नै समयमा फल उपभोग गर्ने इच्छालाई त्यागेर परिश्रम गर्नुपरेको छ। के हामीहरू इतिहासको यो जिम्मेदारीलाई वहन गर्न तयार छौँ।
मैले आफ्नो भाषणमा वर्तमान उत्तरदायित्वको उल्लेख गरें, यो उत्तरदायित्व अत्यन्त कठिन तथा असाधारण छ। वर्तमान समय पनि त असाधारण छ। समस्याहरूले हामीलाई चुनौती दिन्छ। राष्ट्रले आफ्नो पौरुष प्रदर्शन गर्ने समय पनि आज नै हो। मलाई समस्याको जटिलतामा जिम्मेदारीको भारले निरुत्साहित गर्दैन। यसले त झन् प्रेरणा दिन्छ, उत्साह प्रदान गर्छ, तारुण्य र युवावस्थाको विशेषता नै यसमा रहन्छ कि जुनसुकै चुनौतीको सामना गर्न सदैव यो प्रस्तुत रहन्छ। खतरासँग यो जुझ्दछ। राष्ट्रले आफ्नो पौरुष उकास्ने अवसर आएको छ।
भारतको यो सुन्दर सहरमा भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको यो सम्मेलनको महत्व छ। नेपाल भारतको मित्रतापूर्ण सम्बन्ध परम्परा पुरानो छ। संस्कृतिको यो सम्बन्धलाई झन् बलियो पारेको छ। तपाईंहरू यहाँ रहँदा यो गूढ सत्यलाई अनुभव गर्नुभएकै होला। यता वर्तमान जिम्मेदारी, जसपट्टि मैले तपाईंहरूको ध्यान आकर्षित गर्ने भरखरै प्रयत्न गरेँ तथा भविष्यको चुनौतीले पनि नेपाल र भारतलाई नजिकै पारेको छ। भारतको मौलिक समस्याहरू हाम्रो देशको मौलिक समस्या जस्ता नै छन्। यी समस्याहरूका प्रति दुई देशको दृष्टिकोण र समस्या समाधान गर्ने प्रणाली पनि प्रायः समान छ। अन्तर्राष्ट्रिय दृष्टिकोण पनि प्रायः दुवै देशको एकनासको छ। तसर्थ तपाईंहरूले आ–आफ्नो विषयको गम्भीर अध्ययनका साथ सामाजिक–आर्थिक समस्याहरूको हिन्दुस्थानले कुन तरिकाले समाधान गर्न थालेको छ, त्यसको पनि अध्ययन गर्नुपर्छ। यहाँका निर्माण कार्यहरू, ठूला ठूला कारखानाहरू, सडक, बाँध, नहर, यहाँका योजनाहरू, पञ्चवर्षीय योजना, यहाँको राजनीतिक प्रणाली, संसदीय प्रणाली, यहाँका कानून विधान आदि गम्भीर अध्ययनका विषय छन्। तपाईंहरूले आफ्नो भारत निवासको मौकामा यतापट्टि पनि ध्यान दिनुहोला। पछि यो तपाईंहरूको यो अध्ययन र अनुभवले देशलाई काम देला।
नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार–विस्तार आफ्नो स्थान बनाउन थालेको छ। हाम्रो देशको तटस्थ परराष्ट्र नीति, जसको समर्थन देशहरूले सामूहिक रूपबाट गरेका छन्, केवल नैतिक दृष्टिले मात्र समर्थनीय छैन। व्यवहारिक दृष्टिले पनि हाम्रो परराष्ट्र नीति सराहनीय छ। यसको यो अर्थ होइन कि हामी अन्तर्राष्ट्रिय समस्याहरूका उपर कुनै विचार राख्दैनौँ अथवा कुनै अन्तर्राष्ट्रिय प्रश्नको गुण–दोषको विवेचना हामीबाट हुँदैन। यो नीतिको अर्थ हो कि हामी सामरिक गुटमा बाँडिएर विश्वलाई विभाजित हुन दिँदैनौँ, हामी कुनै गुटपट्टि लाग्दैनौँ र आफ्नो स्वतन्त्र विचारलाई कसैको खटनमा रहन दिँदैनौँ। आजको विश्वका तीन महत्वपूर्ण तथ्यहरू छन्–
१. विज्ञानको चमत्कारपूर्ण उन्नति जसले गर्दा मानव जातिले उज्ज्वल भविष्य र अन्धकारमय भविष्य दुवै सम्भावनाको दोबाटोमा आफूलाई पाइरहेको छ।
२. एसिया र अफ्रिका महादेशका विभिन्न देशद्वारा स्वतन्त्रताको प्राप्ति।
३. यो दोस्रो घटनासँगै सम्बन्धित अर्को तथ्य विश्वमा उपस्थित भएको छ, त्यो हो भरखरै स्वतन्त्रता प्राप्त गरेका देश र अरु पनि सानातिना देशहरूको आर्थिक विकासको प्रश्न। अन्त्यमा गएर यी अविकसित देशहरूको स्वतन्त्र अस्तित्वको आधार पनि आर्थिक विकासमा नै निर्भर गर्छ।
मेरो दृढ विश्वास छ कि नेपालले ग्रहण गरेको परराष्ट्र नीतिले विश्वका यी तीन घटनाहरूबाट उत्पन्न समस्याहरूको समाधानमा आफ्नो सामथ्र्य योगदान दिएको छ। यसै कारणले पनि हो कि संयुक्त राष्ट्र संघलाई झन् बढी शक्तिशाली संस्था बनाउने पक्षमा नेपाल सदैव रहेको छ। कुनै न कुनै अन्तर्राष्ट्रिय संस्था नभई अहिलेको विश्वका समस्या चाहे ती सामरिक हुन् चाहे आर्थिक–को समाधानको आशा छैन। संयुक्त राष्ट्र संघभन्दा उपयोगी अर्को कुनै संस्था हुन सक्छ र?
मैले तपाईंहरूको धेरै समय लिइसकेँ, आफ्नो मनमा लागेका केही विचारहरू तपाईंहरूका सामुन्ने बिछ्याएँ। तपाईंहरूको उत्सुकता हाम्रा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समस्याहरूपट्टि जागृत होस् भन्ने अभिप्रायले तपाईंहरूलाई आफ्नो विचार सुनाएँ। तपाईंहरू स्वयम् पनि मैले उल्लेख गरेका प्रश्न या समस्याहरूसँग अवगत हुनुहोला। आखिर आजको दुनियामा कुन शिक्षित व्यक्ति त्यस्तो होला जसले समस्याहरूको अनुभव गरेको छैन। समस्याबाट हामी पन्छिन चाहे पनि समस्याले हामीलाई छोइहाल्छ।
तपाईंहरू विदेशमा हुनुहुन्छ। हाम्रो मित्र भारतको आतिथ्यको उपभोग गरेर छिट्टै आफ्ना काँधमा पर्नआउने अभिभारालाई सफलतापूर्वक वहन गर्नका लागि देशबाट टाढा बसी तपाईंहरू विद्याध्ययन गर्न लाग्नुभएको छ। तपाईंहरू आफूलाई विद्यार्थी मात्र नसम्झेर नेपालको अनौपचारिक राजदूत भन्ठान्नुहोला। तपाईं जहाँ रहे पनि नेपालको गौरव र इज्जत तपाईंहरूसँग सँगै रहन्छ। यसैलाई नबिर्सिनुहोला।
जय नेपाल!
(२०१७ साल कात्तिक १५ गते द्वितीय अखिल भारत नेपाली विद्यार्थी सम्मेलनमा दिइएको भाषण। साभारः नेपाली कांग्रेसका चार दशक)
0 comments
Write Down Your Responses