top_rightads

जुडोकी फुपू पूरा अवधि खेल्ने पहिलो नेपाली

श्रावण २५, २०७३- नेपाली जुडो खेलाडी फुपूल्हामु खत्री रियो ओलम्पिकको पाँचौं दिन मंगलबार पहिलो चरणमा क्युबाली खेलाडी मरिसेट इस्पिनोसासँग पराजित भएकी छिन् । तर, उनी ओलम्पिकमा पूरा समय टिक्ने पहिलो नेपाली जुडोका भएकी छन् ।

पान अमेरिका जुडो च्याम्पियनसिप (सन् २०१३ र २०१४) मा स्वर्णपदक जितेकी मरिसेटले अन्तिम ३२ को प्रतिस्पर्धामा फुपूलाई एक–एक वाजारी र युकोको आधारमा पराजित गरेकी थिइन् । उनले दोस्रो मिनेटमा युको स्कोर (१ अंक) हात पारेकी थिइन् । फुपूलाई पछार्दै उनले तेस्रो मिनेटमा वाजारी (१० अंक) जोडेकी थिइन् ।
११ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णपदक जितेकी फुपू ओलम्पिकमा धेरै महत्वकांक्षी पनि थिइनन् । ‘पूरा समय (चार मिनेट) टिक्ने मेरो लक्ष्य छ,’ उनले प्रष्टै भनेकी थिइन् । यसअघि ओलम्पिक खेलेका जुडो खेलाडी गंगाबहादुर डंगोल, ऋषिराम प्रधान र देबु थापा पूरा समय खेल्न सकेका थिएनन् । उनीहरु खेल पूरा नहुदै इप्पोन (१ सय अंक/नकआउट) को आधारमा पराजित भएका थिए ।
‘मेरो प्रदर्शन राम्रै भयो,’ २१ बर्षीय फुपूले खेलपछि रियोबाट भनिन्, ‘पूरा अवधि (चार मिनेट) खेल्ने लक्ष्य बनाएकी थिए, त्यो पूरा भएको छ । मैले सोचेभन्दा खेल राम्रो भयो । किनभने क्युबाली जुडोमा हामीभन्दा धेरै माथिल्लो स्तरका छन् ।’ ६ बर्षयता निरन्तर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि भएकी उनले थपिन्, ‘छनोट भएर ओलम्पिकमा आएकी उनी निक्कै बलिया थिइन् । त्यसैले सुरुमा त म पनि पूरा समय टिक्दिन होला भन्ने लागेको  सुरुमा त पूरा समय पनि टिक्दिन होला जस्तो लागको थियो । तर, आत्मविश्वासी भएर चार मिनेट खेले ।’
ओलम्पिक छात्रवृत्तिअन्तर्गत् हंगेरीमा पाँच महिना विशेष प्रशिक्षण गरेकी फुपूलाई ‘पावर’को आधारमा मरिसेटले पछाडि पारेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले बताए । ‘पावरको आधारमा क्युबाली खेलाडीले वर्चस्व राखेपनि फुपूले राम्रो खेलिन् । उनको प्रदर्शनमा हामी सन्तुष्ट छौं खुशी छौं,’ उनले रियोबात बताए ।
छनोटमा असफल भएपनि ‘वाइल्ड कार्ड’ प्राप्त गरेपछि ओलम्पिक खेल्ने सपना साकार पारेकी फुपूले भनिन्, ‘अब्बल प्रशिक्षक, ट्रेनिङको अवसर, खेल सामाग्रीलगायतका सुविधा उपलब्ध गरायो भने हामी पनि केहि गर्नसक्छौं, पदक जित्नसक्छौं । तर, १–२ वा ४ महिना बिदेशी प्रशिक्षक ल्याएर वा बिदेश लगेर मात्र हुदैन, त्यसको लागि तीन–चार बर्षको योजना बनाएर खेलाडी तयार गर्नुपर्छ ।’
‘खेल्ने आफ्नै मिहिनेत र लगनशीलताले हो,’ भविष्यबारे उनले भनिन्, ‘नेपालका जुनियर खेलाडी राम्रा छन् । मैले मात्र होइन, उनीहरुले पनि अवसर पाउनुपर्छ । एक्सपोजर पाएपछि उनीहरुले केहि गर्नसक्छन् । सँधै म नै हुनुपर्छ भन्ने छैन राम्रो खेलाडीलाई छनोट गरेर उत्कृष्ट बनाउनुपर्छ । अनि छनोट चरण पार गरेर नेपालीले ओलम्पिकमा खेल्नसक्छन् । मलाई पनि छनोट भएरै ओलम्पिक खेल्ने मन छ तर सबै कुरा समयले बताउँछ ।’

0 comments

Write Down Your Responses