पन्ध्र दिनका लागि फेरि खुल्यो कोरला नाका
चीनसँगको नेपाली उत्तरी सीमानाका कोरला पन्ध्र दिनका लागि पुनः संचालनमा आएको छ। उपल्लो मुस्ताङस्थित तिब्बतसँग जोडिएको यो नाकामा बिहीबारदेखि चीनले काँडेतार हटाएर कोरलाको गेट खुला गरेको छ।
अहिलेलाई १५ दिनका लागि खुला गरिएको कोरला नाकामा भदौ ४ गतेबाट औपचारिक रुपमा सुचारु हुने मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले नेपालखबरलाई जानकारी दिए। गत साल असारमा एकपटक मात्र खुलेको कोरला यो वर्ष भने दुई पटक खुलिसकेको हो।
गत असार १ गतेदेखि १६ सम्म संचालनमा आएको कोरला भदौमा पुनः खोलिने दुवै देशका स्थानीय प्रशासनका बीचमा सम्झौता भएको थियो। नाका छिट्टै खुला गरिनुमा चिनियाँ प्रशासनको चाहनाले काम गरेको स्थानीय बासिन्दाले जनाएका छन्।
यसपटक साउनमै मौसममा पनि केही सुधार आयो। असोजबाट उपल्लो मुस्ताङमा हिँउ पर्ने भएकोले अहिले नै कोरला संचालनमा ल्याइएको प्रजिअ अधिकारीले बताए।
यसपटक साउनमै मौसममा पनि केही सुधार आयो। असोजबाट उपल्लो मुस्ताङमा हिँउ पर्ने भएकोले अहिले नै कोरला संचालनमा ल्याइएको प्रजिअ अधिकारीले बताए।
नेपालको सीमाबाट तीन किलोमीटर चीनतिर (तिब्बत) बजार लाग्ने गरेको छ। चीनको स्वशासित क्षेत्र तिब्बतको ढुङ्वासेन जिल्लामा पर्ने यस ठाउँबाट ३० किलोमिटर टाढा भने ठूलो बजार रहेको उपल्लो मुस्ताङ निवासी डिकी डोल्कर विष्टले जानकारी दिइन्।
उपल्लो मुस्ताङका दामोदरकुण्ड, छोसेर, लोमान्थाङ, मराङ, घमी र चराङजस्ता सीमावर्ती गाविसका नागरिकले ६ महिना पुग्ने गरी चीनबाट खाद्यन्न तथा अन्य सरसामान आयात गर्दै आएका छन्।
चीनबाट नेपालीहरुले सबैभन्दा बढी पस्मिना आयात गर्छन्। खासगरी फर्निचरका सामान, कपडा, भेडा, बाख्रा ऊन र खाद्यन्नजस्ता वस्तु चीनबाट आयत हुन्छ भने नेपालबाट फापरको पीठो, यार्सा, चामल, मैदा, चाउचाउ, बिस्कुट, उवाको पीठो, चौंरीको छालालगायत निर्यात हुने विष्टले जनाइन्।
सदरमुकाम जोमसोमबाट उपल्लो मुस्ताङ पुग्ने सडकमार्ग अझै निर्माणधीन भएकोले उपल्लो मुस्ताङका जनता चीनसँगको व्यापारमा निर्भर हुनुपर्छ। त्यसैले उनीहरुले कोरला नाका वर्षभरि नै खोल्न माग गर्दै आएका छन्।
नाका संचालनसँगै सीमामा भन्सार राख्ने तयारी भइरहेको प्रजिअ अधिकारीले जानकारी दिए। सीमामा बोर्डर आउट पोस्ट (बिओपी)का लागि सशस्त्र सीमा सुरक्षा बल राख्ने तयारी पनि भइरहेको अधिकारीले जानकारी दिए।



0 comments
Write Down Your Responses