अधुरो भयो पाइलट रञ्जनको काठमाडौंमा घर किन्ने सपना
२५ साउन, झापा । लिम्बूवान नेता भक्तबहादुर खेवाहाङलाई सोमबार दिउँसो काठमाडौंबाट फोन आयो, जसले उनलाई भावविह्वल मात्रै बनाएन, उनी भक्कानिए । आफ्नो पाइलट छोराको मृत्युको अपुष्ट खबर सुनेपछि एकछिन त केही बोल्नै सकेनन् । थर्रर काँपे ।
‘फिस्टेल एयरको विमान दुर्घटना भयो भन्ने समाचार आएको छ… के हो कुरा..?’ काठमाण्डौंबाट आफन्तको प्रश्न थियो त्यो । उतैबाट थपियो, ‘रञ्जनले नै उडाएका थिए भनिराखेको छ टीभीले ।’ बोल्नै सकेनन् भक्तबहादुर । मुखबाट केही शब्दै निस्किएन । केहीबेरमा फोन आफैंं काटियो ।
लिम्बूवानका केन्द्रीय आर्थिक विभाग प्रमुखसमेत रहेका भक्तबहादुर एक कार्यक्रममा सहभागी हुन बिराटनगर गएका थिए । त्यहाँबाट घर फर्किने क्रममा बाटैमा उनले आफ्नो छोरा गुमेको जानकारी पाए ।
दमक आइपुगेपछि भक्तबहादुरले समाचार हेरे । सबै सञ्चारमाध्यममा छोराको तस्वीर छरपस्ट थियो ।
आफ्नो छोराको निधनको खबर सुन्दा कुन बुबाको मन भक्कानिँदैन ? उनी बेहोसीको हालतमा पुगे । साँझ करिब ५ बजे घर आइपुगे । घरमा सबै गाउँले भेला भइसकेका थिए । परिवारलाई शान्तवना दिइरहेका देखिए । उनलाई झन् पीडा भयो ।
गोर्खाबाट विरामी लिएर आउने क्रममा दुर्घटनाग्रस्त भएको फिस्टेल एयरको हेलीकोप्टरका क्याप्टेन थिए भक्तबहादुरका छोरा रञ्जन लिम्बू ।
गोर्खाबाट विरामी लिएर आउने क्रममा दुर्घटनाग्रस्त भएको फिस्टेल एयरको हेलीकोप्टरका क्याप्टेन थिए भक्तबहादुरका छोरा रञ्जन लिम्बू ।
कोप्टरमा सवार अन्य पाँच यात्रु र क्याप्टेन लिम्बूसहित १ नाबालकको पनि घट्नास्थलमै ज्यान गयो । रञ्जनका बुबा भक्तबहादुरले केहीवेरमै विस्तृत जानकारी पाए ।
‘इमान्दार, लगनशील र मेहनती ‘भाइ’ गुम्यो’, गाउँले भन्दै थिए । करिब सय व्यक्तिहरु रञ्जनको घरमा भेला भएका थिए । अनलाइनखबरकर्मी त्यहाँ पुग्दा भक्तबहादुर उनीहरुसँग छोराका बारेमा कुरा गर्दै थिए ।
भक्तबहादुरले करिब १५ वर्ष ब्रिरटिश आर्मीमा जागिर खाए । उनले चाहेको भए परिवारलाई नै बेलायत लैजान सक्थे । छोरालाई आर्मीमै जागिरे बनाउन सक्थे । तर, न बुबाको सोचाइ त्यतातिर थियो न त छोरा रञ्जनको नै ।
जे गरे पनि आफ्नै देशमा गर्ने । स्वदेशकै सेवा गर्ने स्वभावका थिए बुबाछोरा । त्यसैले दुवैले परदेशलाई रोजेनन् । बुबा बि्रटिश आर्मीमा भए पनि रञ्जनको त्यसतर्फ लगाव थिएन ।
रञ्जनले कक्षा नर्सरीदेखि १० सम्म चारआलीको लिटल एन्जल स्कुलमा पढे । प्रथम डिभिजनमा एसएलसी पास गरे । रञ्जनका शिक्षक सीपी कार्की भन्छन्, ‘निक्कै सिर्जनात्मक विद्यार्थी थिए रञ्जन ।’
‘सबैलाई सहयोग गर्ने स्वाभावका थिए उनी’, कार्कीले थपे, ‘अतिरिक्त क्रियाकलापमा पनि रुचि थियो ।’ रञ्जन सानैदेखि चित्रकलामा अब्बल रहेको उनले सुनाए । परीक्षामा पनि सधैं प्रथम, दोस्रो वा तेस्रो मात्रै भए ।
विद्यालयमा पढ्दादेखि नै उनी पाइलट बन्छु भन्थे । ‘आफ्नो जीवनको लक्ष्य सोध्दा पाइलट बन्छु भन्थे’, शिक्षक कार्कीले भने, ‘पढाइ पनि राम्रै थियो । साथीहरु माझ पनि इमान्दार विद्यार्थीको रुपमा चिनिन्थे ।’



0 comments
Write Down Your Responses