डेढ दशक बित्दा पनि बनेन रंगशाला
मोरङको वैद्यनाथपुरमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण सुरु गरिए पनि डेढ दशक बित्दासमेत पूरा हुन सकेको छैन ।
कभर्डहल, क्रिकेट, फुटबल, सफ्टटेनिस कोर्ट, सुटिङ रेञ्जसहित अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउन सरकारले वैद्यनाथपुरमा २०५८ सालमा ८० लाख रुपैयाँ खर्चेर १५ बिघा जमिन खरिद गरेको थियो । त्यसलगत्तै सरकारले बजेट विनियोजन गरेपछि भौतिक संरचना निर्माण गर्न थालिएको थियो ।
रंगशालाको भौतिक संरचना निर्माणमा हालसम्म २ करोड ३० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । क्षेत्रीय खेलकुद विकास समितिको तथ्यांकअनुसार कम्पाउन्ड वाल, गेट, घेराबेराका लागि ३६ लाख, क्रिकेट मैदानका लागि ७७ लाख, सुटिङ रेञ्जका लागि १८ लाख र सफ्टटेनिस कोर्ट बनाउन १८ लाख रुपैयाँ खर्च भइसकेको छ ।
क्षेत्रीय खेलकुद विकास समिति प्रमुख टेकप्रसाद कट्टेलले २ करोड ३० लाख रुपैयाँभन्दा बढी खर्च भइसके पनि कुनै काम पूर्ण हुन नसकेको बताए । ‘दुई वर्षअघि ४६ लाख ४० हजार रुपैयाँ लागतमा कार्यालय भवन निर्माण सम्पन्न गरिए पनि उपयुक्त छैन,’ उनले भने ।
भवन बने पनि समितिले विराटनगर १० स्थित अस्पताल चोक नजिक मासिक १४ हजार रुपैयाँ भाडामा कार्यालय सञ्चालन गर्दै आएको छ । गुरुयोजनाअनुसार निर्माण नगरिंदा रंगशालामा गरेको लगानी बालुवामा पानी खन्याएझैं भएको छ । सरकार परिवर्तनसँगै समितिमा पदाधिकारी फेरिने भएकाले योजनाबद्ध काम अगाडि बढ्न नसकेको हो ।
३२ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको पर्खालसमेत भत्काउनुपर्ने अवस्था सिर्जना भएको छ । पर्खाल भत्काउनसमेत करिब १० लाख रुपैयाँ खर्च हुने कर्मचारीहरू बताउँछन् । अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य वसन्त अर्याल मास्टर प्लानअनुसार काम नहुँदा अहिले सञ्चालनमा आइसक्नुपर्ने रंगशाला अस्तव्यस्त बन्दा खेल क्षेत्रलाई नै क्षति पुगेको बताउँछन् ।
योजनाअनुसार अघि नबढ्ने हो भने खेलकुद क्षेत्रमा जतिसुकै रकम खर्चिए पनि त्यसबाट प्रतिफल प्राप्त गर्न नसकिने खेल क्षेत्रका अगुवाहरूको बुझाइ छ । निर्माणाधीन रंगशाला नजिक डेढ बिघा जग्गा भएका वैद्यनाथपुर ४ का ६७ वर्षीय डम्बर राजवंशी गाउँमा अन्तर्राष्ट्रिय रंगशाला निर्माण हुने भएपछि हर्षित भएका वैद्यनाथपुरवासी अहिले निराश हुन थालेको बताउँछन ।



0 comments
Write Down Your Responses