पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रसंघको महासभामा भारतको धज्जी उडाए
न्यूयोर्क, असोज ६ । पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले संयुक्त राष्ट्रसंघको महासभा बैठकमा भारतको धज्जी उडाएका छन् ।
महासंघको वार्षिक बैठकलाई सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री शरीफले भारतीय सेनाद्वारा कश्मिरमा मानव अधिकार उल्लंघनका गम्भीर घटना भएको भन्दै अन्तर्राष्ट्रिय छानविनको माग गरे ।
उनले भारतीय सुरक्षाकर्मीद्वारा हत्या गरिएका बुरहान बानीलाई ‘युवा नेता’ को संज्ञा दिदैं स्वतन्त्रताको माग गरेका युवा नेता बुरहानको भारतीय सुरक्षाकर्मीले हत्या गरेपछि कश्मिरमा पछिल्लो हिंसा चर्किएको बताए । भारतले भने बुरहानलाई उग्रवादी नेता भन्दै आएको छ ।
भारतले कश्मिरी जनतामाथि अत्याचार गरेको पाकिस्तानी प्रधानमन्त्री शरीफको भनाइ थियो । उनले भने, ‘कश्मिर विवाद समाधान विना पाकिस्तान र भारतबीच शान्ति र सामान्य सम्बन्ध बहाल हुन सक्दैन, हाम्रो अनुमान घटनाहरुका माध्यमबाट पुष्टि भइरहेका छन्, कश्मिरी युवापुस्ता भारतको अवैध कब्जाविरुद्ध आवाज उठाइरहेका छन्, उनीहरु कब्जाबाट स्वतन्त्रताको माग गरिरहेका छन् ।’
कश्मिरमा उठिरहेको स्वतन्त्रताको माग दमन गर्ने क्रममा भारतले सो क्षेत्रमा पाँच लाखभन्दा बढी सेना परिचालन गरेको भन्दै पाकिस्तानी प्रधानमन्त्री शरीफले पछिल्लो दुई महिनामा एक सयभन्दा बढी नागरिकको हत्या भएको, सयौं नागरिकलाई अन्धो बनाइएको र ६ हजारभन्दा बढी नागरिकलाई घाइते तुल्याइएको आरोप लगाए ।
उनले कश्मिरमा भारतले गरेको दमन र अत्याचारको प्रमाण पाकिस्तानले राष्ट्रसंघका महासचिवलाई उपलब्ध गराउने समेत जनाए ।
उनले अवैध कब्जाबाट कश्मिरी जनताले मुक्ति खोज्नु उनीहरुको हक भएको बताए । पाकिस्तान कश्मिरी जनताको आत्मनिर्णयको अधिकारलाई सम्मान गर्ने पनि उनले बताए ।
भारतले पाकिस्तानी प्रधानमन्त्रीको यस्तो भनाइको खण्डन गरेको छ । भारतीय विदेशमन्त्रालयका प्रवक्ता विकास स्वरुपले ट्वीट गर्दै लेखेका छन्, ‘पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले संयुक्त राष्ट्र महासभामा हिज्बुल उग्रवादी बुरहान बानीको महिमामण्डन गरे, यसबाट पाकिस्तानको उग्रवादसँगको सम्बन्ध प्रष्ट हुन्छ ।’ (एजेन्सी)
1 comments
Write Down Your Responses
September 22, 2016 at 10:48 AM
एकदम सही