एसीसी फेरि ब्युँतिने, आज कोलम्बोमा कार्यालय खुल्दै
एसियाली क्रिकेटको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको एसियाली क्रिकेट महासंघ (एसीसी) पुनः ब्युँतिने कुरामा लगभग सहमति बनेको छ। एसियाबाट प्रतिनिधित्व गर्ने राष्ट्रहरूको शनिबार (आज) बिहान श्रीलंकाको राजधानी कोलम्बोमा बसेको अनौपचारिक बैठकले यस्तो निर्णय गर्न लागेको हो।
औपचारिक बैठक आइतबार (आज) बिहान बस्दैछ। यसबाट एसियाको क्रिकेटलाई कुन तरिकाबाट विकास गर्ने भन्ने स्पष्ट हुनेछ।हिजो साँझ ५ बजे श्रीलंकाको राजधानी कोलम्बोमा एसीसीको नयाँ मुख्यालयको उद्घाटन हुने नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले मोरङअनलाइनलाई जानकारी दिए। अध्यक्ष चन्द र महासचिव अशोकनाथ प्याकुरेल एसीसीको यही बैठकमा भाग लिन शुक्रबार कोलम्बो पुगेका थिए।
‘अहिले ५ बजे एसीसीको कार्यालयको उद्घाटनमा उपस्थिति हुन हामीलाई निम्तो आएको छ,’ कोलम्बोबाट मोरङअनलाइनलाई जानकारी दिँदै चन्दले भने। अन्तर्राष्ट्रिय क्रिकेटलाई निर्देशित गर्दै आइरहेको अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसीसी) ले विवादास्पद रूपमा गत वर्ष एसीसीलाई विघटन गरेको थियो। त्यसयता एसियाली क्रिकेटलाई निर्देशित गर्ने काम पनि आइसीसीले गर्दै आइरहेको थियो।
आइसीसीको पछिल्लो निर्णयबाट एसीसीको थुप्रै राष्ट्र असन्तुष्ट थिए। यसअघि एसीसीको मुख्यालय मलेसियास्थित क्वालालम्पुरमा थियो। बिहानको बैठकमा एसियाबाट टेष्ट खेल्ने ४ राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशसहित टेष्ट र एकदिवसीय नखेल्ने ९ राष्ट्रका पदाधिकारी उपस्थिति थिए। ‘नेपालबाट प्रतिनिधित्व गर्न हामीलाई उनीहरूले निम्तो पठाएका थिए,’ महासचिव प्याकुरेलले टेलिफोनबाट जानकारी दिए।
नेपाली क्रिकेटमा चलिरहेको विवादका कारण आइसीसीले नेपाल क्रिकेट संघ (क्यान) लाई ४ महिनाअघि प्रतिबन्ध लगाएको थियो। गत वर्ष क्यानको निर्वाचनबाट चन्दको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको थियो। तर, त्यो कमिटीलाई मान्यता नदिएर राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले रमेश सिलवालको नेतृत्वमा अर्को तदर्थ कमिटी गठन गरेपछि नेपाली क्रिकेटमा विवाद सुरु भएको थियो।
आइसीसीले क्यानलाई प्रतिबन्ध लगाएपनि एसीसीले चुनावी प्रक्रियाबाट आएको भन्दै चन्द नेतृत्वको कमिटीका पदाधिकारीलाई बैठकमा निमन्त्रणा दिएको हो। एसीसीको स्थापना १९८३ मा भएको थियो।
0 comments
Write Down Your Responses