top_rightads

विवाद गर्नेले सोच्नपर्छ, क्रिकेट नै नरहे हामी कहाँ रहुँला: टमाटा

देशको झण्डा लर्डस्मा फहरिदैँ गर्दा क्रिकेटको महत्व पाठ गर्नेहरु नेपाली क्रिकेट कहाँ पुग्दैछ भन्नेमा सीरियस नभएको बताउँछन् प्रमुख प्रशिक्षक जगत टमाटा। पर्दा पछाडिका यी नायक लामो समयदेखि नेपाली क्रिकटसँग जोडिएका छन्। 
मुस्कान र मुम्बैया शैलीको यीनको डायलग साच्चैँ रहरलाग्दो हुने गर्छ नेपाली क्रिकेटमा। साढे दुई दशक नेपाली क्रिकेटमा बिताएका प्रमुख प्रशिक्षक जगत निदरल्यान्डलाई हराउँदा पनि खुसी भने छैनन्। समय र परिस्थितिले गिजोलेको नेपाली क्रिकेटलाई बचाइराख्न यीनले जति सके त्यति गरे। अब केही नगर्ने हो भने क्रिकेटले कोल्टे फेर्नेछ।  
'घर बिनाको परिवार जस्तो भएको छ नेपाली क्रिकेट। छत छैन, मुली छैनन्, मात्र छन् भाइ भारदार। तै पनि जोगाएकै छन् घरको शान। तर उनीहरुले कतिन्जेल थाम्ने हुन यो इज्जत र प्रतिष्ठा?' जगतले नेपाली क्रिकेटको वर्तमान अवस्थाबारे गहिरो चिन्ता अनि पीडा पोखे। 
कहिले अमेरिकालाई हराएर होस् त कहिले निदरल्यान्डलाई, नेपालको झण्डा फहराउने माध्यम बनेको क्रिकेट यतिखेर प्रतिबन्धमा छ आफ्नै किचलो र कलहले। 
विश्वकपको बाटोमा अगाडि बढेको नेपाली क्रिकेट यस्तै परिबन्ध र परिवर्तनको रन्कोले पील्सिने गरेको अनुभव बोकेका छन् जगतले। 'यो वर्ष हाम्रो लागि निकै महत्वपुर्ण हो तर......,'भावुक हुँदै जगत भन्छन्। निदरल्यान्ड्समा रहेका जगतले टेलिफोन मार्फत कुराकानीलाई फराकिलो पार्दै भने, 'यस्तै हो भने आगामी दिनमा खेलाडीलाई बाँधिराख्न मुस्किल पर्न सक्छ। करिब दुई वर्ष भो घरेलु क्रिकेट नभएको, कहाँबाट नयाँ खेलाडी आउने? भएका पाका खेलाडीलाई पनि गाँसबासको समस्याले पीरोल्न थालिसकेको छ, कसरी क्रिकेट अगाडि बढ्ला?'
'खेलाडीले मासिक तलब नपाएको छ महिना भैसकेको छ। क्यानको प्रतिबन्धले व्यक्ति हाबी हुने परम्परा सुरु भएको छ,' जगतले दुखेसो पोखे।
'आइसीसीले क्यान नहुँदा भावना जी जस्तो व्यक्ति समातेर काम अगाडि बढाएको छ। संस्थागत निर्णय हुनु पर्ने कयैन विषयह थाती छन्। व्यक्तिले गर्ने निर्णय सबै तर्क संगत र न्यायपूर्ण हुन्छ भन्न सकिदैँन,' जगतले भने।
'व्यक्तिसँग समन्वय गरेर राज्यको क्रिकेट चल्दैन,' जगतले सिधा तर्क गरे। 
विश्वकपको बाटोमा अब नेपालले फेब्रुअरीमा केन्यासँग र त्यसपछि यूएइ र हङकङसँग खेल्नुपर्ने छ। तर त्यतिन्जेलसम्म क्रिकेटको गाँठो फुकेन भने अवस्था राम्रो नहुने संकेत गर्छन् जगत। यस्तै अवस्था अर्को एक डेढ वर्ष रहने हो भने नेपाली क्रिकेट ध्वस्त हुनसक्नेमा जगत गम्भिर छन्। निदरल्यान्ड्सँगको दोस्रो खेलमा जितपछि उनले यो भ्रमण सफल ठान्नु पर्ने बताए।
'अहिले वरियतामा अगाडि रहेको र दुईपटक विश्वकप खेलिसकेको टिमसँग बराबरी हुनु राम्रै नतिजा मान्नुपर्छ। अहिलेसम्म नतिजा र प्रयासको खातिर नेपालले ध्यान केन्द्रित गरेको अवस्था हो। यदि भोलि परिणाममा शुन्यता छाउन लाग्यो भने कसैले हामीलाई हेर्ने छैनन,' उनले क्रिकेटको माथिल्लो निकायतर्फ संकेत गर्दै भने। 
मुलुकमा देखिएको विवादको समाधान गर्न राज्यस्तरबाटै पहल हुनुपर्ने जगत बताउँछन्। देशको झण्डा फहराउने खेलका रुपमा रहेको क्रिकेट प्रतिबन्धमा रहँदा टुलुटुलु हेरेर बस्नु नहुने उनको भनाइ छ। 'यो संकट मोचनका लागि यथाशिघ्र प्रयास र पहल जरुरी छ। क्रिकेट संघमा बसेका साथीहरुले पनि सकरात्मक सोचका साथ अगाडि आउनुपर्छ। उहाँहरुले सोच्नु पर्ने कुरा हो, क्रिकट नै नरहे हामी कहाँ रहुँला भनेर,' जगतले भने।  

0 comments

Write Down Your Responses