top_rightads

पार्टीभन्दा माथि उठेर काम गर्छुः सञ्चारमन्त्री कार्की

नवनियुक्त सूचना तथा सञ्चार मन्त्री राम कार्कीले पदभार ग्रहण गरेका छन्। पदभार ग्रहणपछि मन्त्री कार्कीले आफू जुनसुकै पार्टीबाट आए पनि कुनै प्रकारको पूर्वाग्रह नराखी नेपाल र नेपाली जनताप्रति प्रतिबद्ध भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।


मन्त्री कार्कीले आफूसँग प्रशासन सम्बन्धी खासै अनुभव नभएको बताउँदै आफ्नो कार्यअवधिभरि सन्तोषजनक काम गर्न सहयोगका लागि मन्त्रालयका कर्मचारी र विभागीय प्रमुखसँग आग्रह गरे। उनले आफू मन्त्री रहुन्जेल सबैलाई सहज अनुभूति हुनेगरी काम गर्ने समेत बाचा गरे।
मन्त्री कार्कीले भने, 'राजनीतिक पार्टीलाई गाली गर्नुपर्‍यो भने ब्युरोक्रेटिक भएछ भनिन्छ। भनेको अर्थ यसले बढी परम्परा वा नजिरलाई प्राथमिकता दिन्छ, यसले क्रिएटिभ केही गर्दैन। तर कुनै एउटा राजनीतिकर्मी सत्तामा आउँछ, प्रशासनले त्यसको कुरालाई सहयोग नगर्दा ऊ तुरून्त असफल हुन्छ।'
मन्त्री कार्कीले पहिले-पहिले सञ्चारमाथि सिमित मानिसहरूको मात्र सहभागिता रहेपनि पछिल्लो पटक बढ्दै गरेको सञ्चार माध्यमको सङ्ख्यासँगै अराजक भएको जस्तो पनि अनुभूति हुने गरेको बताए।
संसारको सबैभन्दा खतरनाक, शक्तिशाली हतियार पत्रकारसँग भएको र त्यसको असर दुरगामी र अत्यन्त घातक हुनेहुँदा त्यसलाई संवेदनशील र गम्भीर भएर प्रयोग गर्न मन्त्रीले सञ्चारमाध्यम तथा पत्रकारलाई अपिल गरे। उनले नेपाली जनताप्रति प्रतिबद्ध भएर काम गर्न पनि मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिए।
सञ्चार सचिव दिनेशकुमार थपलियाले मन्त्रीको निर्देशन अनुसार मन्त्रालय र मातहतका विभागले प्रतिबद्ध भएर काम गर्ने जनाए।
मन्त्रालय मातहतका विभागीय प्रमुखहरूसँग परिचयात्मक कार्यक्रमका क्रममा मन्त्री कार्कीले सम्वन्धित निकायले गरिरहेका काम बारेमा चासो राखेका थिए। रासस

0 comments

Write Down Your Responses