top_rightads

पूर्वराजा वीरेन्द्रको शालिक निर्माण गर्दा सरकारको किन टाउको दुखाई ?

नेपालगञ्ज । दोस्रो जनआन्दोलनमा हटाइएको पूर्वराजा वीरेन्द्रको शालिक राजा समर्थित युवाहरुले प्रहरीलाई झुक्याएर पुनर्स्थापना गर्न सफल भएका छन् ।


राष्ट्रवादी युवा समूहले वीरेन्द्रको अर्धकदको शालिक धम्बोजीस्थित वीरेन्द्र चोकमा पुनर्स्थापना गरेको हो । प्रहरीले शालिक राख्न रोक्न खोज्दा युवाहरुसँग झडपसमेत भएको थियो ।

दोस्रो जनआन्दोलन अघिसम्म धम्बोजीमा पूर्वराजा वीरेन्द्रको पूर्णकदको शालिक थियो । त्यसैले सो स्थानलाई वीरेन्द्र चोक भनिन्थ्यो ।

प्रहरीलाई झुक्याए युवाले
दोस्रो जनआन्दोलनमा शो शालिक आन्दोलनकारीहरुले भत्काएका थिए । त्यसपछि शालिक भएको स्थानमा राष्ट्रिय झण्डामात्र राख्ने गरिन्थ्यो । झण्डालाई बेला-बेलामा फेर्ने गरिन्थ्यो । त्यहाँ प्रहरी पनि ड्युटीमा खटिन्थे ।

झण्डा पुरानो र झुत्रो भएको भन्दै विहीबार राष्ट्रवादी युवा समूहले झण्डा फेर्न प्रहरीसँग अनुमति माग्यो । प्रहरीले पनि अनुमति दियो । तर, राष्ट्रिय झण्डा बोकेर आएका युवाहरुले बोरामा राखेर पूर्वराजा वीरेन्द्रको अर्धकदको शालिक पनि ल्याएको प्रहरीले पत्ता पाएन ।

ति युवाहरुले चोकमा रहेको अग्लो पिलरको माथि झण्डासँगै शालिक पनि राख्न खोजे । त्यो देखेपछि ड्युटीमा खटिएका प्रहरीले रोक्न खोज्दा विवाद भयो । त्यहाँ थप प्रहरी फोर्स मगाइयो । वादविवाद झडपमा परिणत भयो । शान्त नेपालगञ्ज बजार हेर्दा हेर्दै तनावग्रस्त भयो ।

प्रहरीविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुले राजा आउ देश बचाउ, राजतन्त्र जिन्दावाद लगायतका नारा लगाएका थिए ।

युवाहरुले सिमेन्टले जोडेर पूर्वराजा वीरेन्द्रको शालिक राखिसकेका छन् । उनीहरुले सो स्थानबाट शालिक हटाउन नदिने र त्यसको संरक्षण पनि गर्ने बताएका छन् ।

अहिले सो स्थान वरपर ठूलो संख्या प्रहरी परिचालन गरिएको छ । प्रहरीले सुर्खेत रोडको यातायात समेत बन्द गराएर धम्बोजी छेत्रलाई नियन्त्रणमा लिएको छ ।

0 comments

Write Down Your Responses