जाली सर्टिफिकेटधारी पाइलटलाई पछ्याउँदै ‘अपरेसन बाज’
बुद्ध एयरका को-पाइलट स्वच्छन्द घले भदौ ८ गते जहाज उडाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको केही समयमै पक्राउ परे।
काठमाडौं महानगरपालिका–३३ का ३० वर्षीय घले विराटनगरबाट आउँदै थिए। उनको जहाज दिउँसो १२ बजे अवतरण हुँदै थियो। त्यसअगावै केही प्रहरी सादा पोसाकमा विमानस्थलमा तैनाथ भइसकेका थिए।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धानका ब्युरो (सिआइबी) बाट खटिएका ती प्रहरी थिए, ‘अपरेसन हक’ का अधिकारी।
‘हक’ अर्थात् ‘बाज’।
बाजजस्तै आकाशमा उड्ने पाइलटहरूको शैक्षिक प्रमाणपत्र केलाएर नक्कली प्रमाणपत्रधारीलाई पक्राउ गर्न सिआइबीले थालेको अभियान हो, अपरेसन हक।
यही अपरेसनअन्तर्गत सिआइबीले घलेलाई पक्राउ गरेको हो। उनले आइएस्सीको नक्कली प्रमाणपत्र देखाएर पाइलट पढेको अनुसन्धानमा संलग्न प्रहरीको दाबी छ। ‘घले कमर्स पढेका मान्छे हुन्, जबकि पाइलट पढ्नलाई उनले आइएस्सीको प्रमाणपत्र पेस गरेको पाइएको छ,’ ती अनुसन्धान अधिकारीले भने, ‘त्यो प्रमाणपत्र जाली हो।’
उनका अनुसार प्रमाणपत्र जाँचपछि ब्युरोका इन्स्पेक्टर प्रकाश दाहालको नेतृत्वमा पाँच सदस्यीय टोली घलेलाई समात्न विमानस्थल पुगेको थियो।
त्यसदिन घले विराटनगरबाट उडेको केही मिनेटमै ब्युरोका अधिकारी विमानस्थल पुगिसकेका थिए। तर, भर्खरै जहाज उडाएर आएको पाइलटलाई एयरपोर्टमै समात्दा अप्ठेरो हुनसक्छ कि भन्ठानेर प्रहरी टोली उनलाई पछ्याउँदै अघि बढ्यो। दिउँसो १ बजे उनी डिल्लीबजारको अनमोल गल्ली पुगे। प्रहरीले त्यहीँ उनलाई नियन्त्रणमा लियो।
केन्द्रीय अनुसन्धान ब्युरोले घले एक जनालाई समात्न मात्र यत्रो अभियान चलाएको होइन।
‘अप्रेसन हक’ अन्तर्गत नक्कली प्रमाणपत्रकारी अन्य पाइलट पनि प्रहरीको निशानामा छन्। नेपालमा ४ सय ५० जनाभन्दा बढी पाइलट छन्। तीमध्ये तीन दर्जन पाइलट ‘अप्रेसन हक’ को उच्च निगरानीमा रहेको ब्युरो स्रोत बताउँछ।
‘यिनीहरू सबैको आइएस्सी सर्टिफिकेट नक्कली रहेको बुझ्नमा आएको छ,’ ब्युरो स्रोतले भन्यो, ‘ढिलोचाँडो त्यस्ता पाइलट हाम्रो पञ्जामा आउँदैछन्।’
ब्युरोले यसअघि ‘अप्रेसन क्वाक’ नाम दिएर नक्कली डाक्टर समात्ने अभियान चलाएको थियो।
त्यसलगत्तै चर्चामा आएको यो अपरेसनसम्बन्धी जिज्ञासामा ब्युरोका निर्देशक प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले सेतोपाटीसँग भने, ‘पाइलट नै नक्कली भएपछि हवाई यात्रा कति सुरक्षित होला? हामीले त्यही भएर शंकास्पद पाइलटमाथि निगरानी बढाउन बाजलाई कोड गरेर ‘अप्रेसन हक’ मिसन सुरु गरेका हौं।’
नक्कली प्रमाणपत्रमा पाइलट समातिएको यो पहिलोपटक होइन।
यसअघि विशाल कार्की यही अभियोगमा पक्राउ परेपछि पाइलटहरूमा आतंकै सिर्जना भएको थियो। यती एयरका झन्डै डेढ दर्जन पाइलटले एकाएक जागिर छाड्नुमा पनि ‘अप्रेसन हक’ कै प्रभाव जोडिएको प्रहरी बताउँछन्।
‘अप्रेसन हक’ ले उतिबेलै समात्न लागेका घलेले तत्काल चलाखीपूर्वक जागिर छाडेका थिए। ब्युरोका अर्का एक अधिकारीका अनुसार जागिर नै छाडेपछि समातिरहन जरूरी छैन भन्ने मनसायले घलेको पछाडि प्रहरी लाग्न छाडिसकेको थियो। केही समयपछि घले पूर्ववत् काममा फर्केको सूचना आएपछि प्रहरी पुनः उनको पछाडि लागेको हो।
विशाल सरकारी छाप दस्तखत कीर्ते मुद्दामा केन्द्रीय कारागारमा पुर्पक्षका लागि थुनामा छन्। ब्युरोका अनुसार घलेलाई पनि उही मुद्दामा अनुसन्धान थालिएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार घलेलाई आइएस्सीको नक्कली सर्टिफिकेट रुपन्देही सिद्धार्थनगर–४ घर भई हाल इमाडोल–६ नयाँबस्ती बस्दै आएका राजकुमार श्रेष्ठले दिलाएका थिए। घले पक्राउ परेकै दिन श्रेष्ठ पनि बालुवाटारबाट समातिएका थिए।
तर, हवाई दुर्घटनाका पछाडि नक्कली प्रमाणपत्रधारी पाइलट मात्र कारण हुन् त?
‘जे जति दुर्घटना भए, त्यसमा के के कारण हुनसक्छन् भन्नेतिर हामी गएका छैनौं, तर यसरी नक्कली प्रमाणपत्र बोकेर जहाज उडाउने पाइलटबाट भने हवाई सुरक्षा छैन भन्ने लागेर नै हामीले मिसन बनाएका हौं,’ डिआइजी सिलवालले भने।
ब्युरोका अनुसार प्रहरीले थालेको ‘अप्रेसन हक’ अभियानमा नेपाल नागरिक उड्डयन प्राधिकरणको समेत सहकार्य छ। अहिलेसम्मको अनुसन्धानअनुसार नेपालकै विभिन्न बोर्डका नामबाट नक्कली सर्टिफिकेट बनाइएको बुझिएको छ। घलेले बोकेको आइएस्सी प्रमाणपत्र उच्च माध्यमिक शिक्षा परिषदको हो।
ब्युरो निर्देशक सिलवालको व्यक्तिगत बुझाइमा यसरी नक्कली सर्टिफिकेटको आधारमा पाइलट बनेको व्यक्तिबाट हवाई यात्रामा असुरक्षा उत्पन्न त गराएको छ नै, पाइलटहरूको व्यावसायिक मर्यादामा पनि आँच पुर्याउने काम भएको छ। ‘हामीले हचुवा भरमा पाइलट वा डाक्टर समातेका छैनौं,’ उनले भने, ‘बकाइदा अनुसन्धान गरेर दोषीलाई कारबाही हुनेमा विश्वस्त भएपछि मात्र पक्रेर मुद्दा चलाएका छौं।’
(setopati)
0 comments
Write Down Your Responses