top_rightads

मेसीलाई उछिन्दै रोनाल्डो बने सबैभन्दा बढी पैसा कमाउने खेलाडी

पैसा कमाउने मामिलामा अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीलाई पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पछि छोडेका छन्।
फोर्बस् पत्रिकाले विश्वभरीका सेलिब्रेटीहरूको हालै सार्वजनिक गरेको रिपोर्टमा मैदानमा प्रायः आफूलाई पछि पार्ने बार्सिलोनाका व्यवसायिक स्ट्राइकर मेसीलाई रोनाल्डोले उछिनेका हुन्। सन् २०१६ मा मात्र रोनाल्डोको वार्षिक आय ८ करोड ८८ लाख अमेरिकी डलर (९ अर्ब ४० करोड ७२ लाख नेपाली रुपियाँ) हुने फोर्बसले बताएको छ। जबकी मेसीको यस वर्षको कूल आय ८ करोड १५ लाख अमेरिकी डलर (८ अर्ब ७१ करोड २३ लाख ५० हजार नेपाली रुपियाँ) हुनेछ। 
रियल म्याड्रिडका स्टार स्ट्राइकर रोनाल्डो चोटका कारण स्पेनमा हाल जारी ला लिगामा अनुपस्थित छन्। उनले २ दिनअघि मात्र युरो वर्ष खेलाडीको उपाधि पाएका थिए। ३१ वर्षीय रोनाल्डो ३ पल्ट फिफा वर्ष खेलाडी बनिसकेका छन्। उनले यस वर्ष पारिश्रमिकबाट मात्र ५ करोड ६० लाख अमेरिकी डलर (५ अर्ब ९८ करोड ६४ लाख रुपियाँ) कमाउदै छन्। यो पारिश्रमिक रकम सन् २०१८ सम्म कायम रहनेछ। रोनाल्डोले विज्ञापनबाट ३ करोड २० लाख अमेरिकी डलर (३ अर्ब ४२ करोड रुपियाँ) कमाउदैछन्।
उनी नाइक, ट्याग हेडर, साकुर ब्रदर सुट र मोन्सटर हेडफोनजस्तो विश्वव्यापी ब्रान्डको विज्ञापनसँग जोडिएका छन्।
उनको तुलनामा २९ वर्षीय मेसीले यस वर्ष पारिश्रमिकबापत ५ करोड ३४ लाख डलर(५ अर्ब ७१ करोड ९१  लाख नेपाली रुपियाँ) कमाउदै छन्। ५ पल्ट फिफा वर्ष खेलाडी घोषित मेसीको विज्ञापनबाट मात्र यस वर्ष २ करोड ८४ लाख डलर (३ अर्ब ३ करोड ५९ लाख रुपियाँ) आम्दानी हुँदैछ।
रोनाल्डो सबैभन्दा बढी कमाउने विश्वभरीको सेलिब्रेटीमा चौथो नम्बरमा छन्। मेसी भने आठौं स्थानमा छन्।
फुटबलका यि दुईहस्तीपछि खेल क्षेत्रमा सबैभन्दा बढी कमाउने तेस्रो खेलाडीमा बास्केटबलका जेम्स लेब्रोन छन्। क्लेभरल्यान्डका यि बास्केटबल खेलाडीको यो वर्षको कमाइँ ७ करोड ७० लाख डलर (८ अर्ब २३ करोड १३ लाख रुपियाँ) छ। उनले पारिश्रमिकबापत वर्षको २ करोड ३२ लाख डलर (२ अर्ब ४८ करोड रुपियाँ) कमाउछन्। उनको विज्ञापनबाट भने ५ करोड ४० लाख डलर (५ अर्ब ७७ करोड २६ लाख) कमाइँ हुन्छ।
चौथो नम्बरमा भने स्विट्जरल्यान्डका टेनिस खेलाडी रोजर फेडररको नाम छ। ३५ वर्षीय फेडररको वार्षिक कमाइँ ६ करोड ८० लाख डलर (७ अर्ब २६ करोड ७२ लाख रुपियाँ) छ। फेडररको यस वर्षको पारिश्रमिक ७८ लाख डलर (८३ करोड ३८ लाख रुपियाँ) छ। तर, विज्ञापनमा उनले रोनाल्डो र मेसीलाई पनि पछाडि छोडेका छन्। उनको वार्षिक विज्ञापनबाट कमाइँ नै ६ करोड डलर (६ अर्ब४१ करोड ४० लाख रुपियाँ) रहेको छ। फेडररसँग विश्व चर्चित ब्रान्ड नाइक, रोलेक्स, मर्सिडिज बेन्ज, क्रेडिट स्विस जोडिएका छन्।
खेलाडीहरूको सूचीमा सर्वाधिक कमाइँ हुने पाँचौ नम्बरमा ओक्लोहोमा सिटीका बास्केटबल स्टार केभिन डुरान्ट छन्। २७ वर्षीय डुरान्टको वार्षिक आम्दानी ५ करोड ६० लाख डलर  (५ अर्ब ९८ करोड ६४ लाख रुपियाँ) रहेको छ।
लेब्रोन संसारभरीका सेलिब्रेटीमाझ सबैभन्दा बढी कमाउने सूचीमा ११ औं स्थानमा छन्। यस्तै, फेडरर १६ र डुरान्ट २६ औं स्थानमा परेका छन्।

,

0 comments

Write Down Your Responses