फास्ट ट्रयाक नेपालले आफैं बनाउनुपर्छः प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एउटा कर्मचारी (रुक्माङगद कटवाल) सँग कुरो नमिल्दा त आफूले सरकार छाडेको भन्दै राष्ट्रिय हितमा काम गर्दा प्रधानमन्त्री पद छाड्नुपरे पनि आफू तयार रहेको बताएका छन् ।
काठमाडौं-तराई जोड्ने फास्ट ट्रयाक नेपालले आफैं बनाउनुपर्छ भनेर ओली सरकारका पालामा निर्णय गराउने व्यक्ति आफैं भएको प्रधानमन्त्री प्रचण्डले स्पष्ट पारेका छन् । आइतबार केही जलस्रोतविदहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भारतबाट फर्किएपछि कर्णली तेस्रो, माथ्लो मस्याङ्दी र अरुण-३ आयोजनाका बारेमा विज्ञहरुको सम्मेलन गर्ने बताएका छन् ।
‘दू्रतमार्ग नेपाल आफैँले निर्माण गर्ने निर्णयमा मेरो आफ्नै सक्रियता थियो’ दीपेन्द्रबहादुर क्षेत्रीको नेतृत्वमा ज्ञापन पत्र दिन आएको टोलीसँग प्र्रधानमन्त्री प्रचण्डले भने, ‘यी आयोजनाका बारेमा ठोस निर्णयमा पुग्नका लागि तपाईहरूले भनेजस्तो विज्ञहरुको उच्चस्तरीय सम्मेलन मेरो भारत भ्रमणभन्दा पहिले सम्भव नभए पनि त्यसपछि गर्ने बारेमा सोच्ने छु । भारत भ्रमणपूर्व तपाईहरूसँग पुनः भेटभाट गरी आवश्यक परामर्श लिनेछु ।’
माथिल्लो कर्णाली र अरुण ३ जस्ता आयोजनाहरू नेपाल आफैँले के कसरी निर्माण गर्न सक्छ भन्ने बारेमा उच्चस्तरीय सम्मेलन आयोजना गर्न विज्ञहरुको टोलीले प्रधानमन्त्रीसँग माग गरेको छ । यस्तो माग लिएर सोमबार प्रधानमन्त्रीलाई भेट्न जाने टोलीमा राष्ट्रिय सरोकार अभियान, नेपालका संयोजक दीपेन्द्रबहादुर क्षेत्रीसहित पूर्वजलस्रोत सचिव डा. द्वारिकानाथ ढुंगेल, ऊर्जाविद् प्रा. डा. हरि पण्डित, जलस्रोतविद् डा. गोपाल सिवाकोटी चिन्तन, डा. मंगल विश्वकर्मा, प्रा. डा. सुरेन्द्र केसी, अजितनारायणसिंह थापा, अधिवक्ता भाइराजा राई, पूर्णबहादुर कुवँर, टेकबहादुर विश्वकर्मा, विहारिकृष्ण श्रेष्ठ, भरत बस्नेत, रत्नसंसार श्रेष्ठ, भरतबहादुर शाही, गोविन्दसिंह थापा, खुमा सुवेदी, लोकबहादुर राउत र पत्रकार हरिशरण लामिछाने लगायत थिए ।
विज्ञहरुको टोलीसँग प्रधानमन्त्रीले भने- ‘हामीले नेपालको जलस्रोत तथा जलविद्युतको अधिकतम् उपयोग गर्नैपर्दछ, तर यसो गरिरहँदा हाम्रो राष्ट्रिय हक र हितको सौदाबाजी हुनसक्ने खतराप्रति मलाई पनि चिन्ता छ । तपाईहरूले व्यक्त गर्नुभएको ज्ञापनपत्रको भाषा र भाव मैले बुझेको छु ।’



0 comments
Write Down Your Responses