प्रचण्डले मोदीलाई पठाएको पत्र’ सार्वजनिक गर्न एमालेको माग
नेकपा एमालेले संविधान संशोधनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएको दावी गर्दै पठाइएको भनिएको पत्र सार्वजनिक गर्न माग गरेको छ । राजधानीमा मंगलवार सकिएको एमाले स्थायी समितिको बैठकले भारतीय प्रधानमन्त्रीलाई पठाइएको भनिएको पत्र सार्वजनिक गर्न माग गरेको हो ।
स्थायी समितिको छैठांै निर्णयमा सरकारले पूर्णता नपाउँदै तथा परराष्ट्र मन्त्री नियुक्त नहुँदै सरकारले छिमेकमा विशेष दूत पठाउने काम गलत भएको एमाले निष्कर्ष छ । स्थायी समितिका निर्णय सार्वजनिक गर्न बुधवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले सचिव योगेश भट्टराईले सरकारले संविधान संशोधनबारे विदेशीको अवाञ्छित चासो निम्त्याउने काम गरेको आरोप लगाए । ‘संविधानमा संशोधन लगायत आन्तरिक मामिलाबारे प्रधानमन्त्रीबाट भारतीय प्रधानमन्त्रीलाई पत्र पठाइएको चर्चा सार्वजनिक भएको छ । यस्तो कार्यले स्वाधीनता र स्वतन्त्र निर्णय गर्ने हैसियतमा आँच पुर्याएको छ र आन्तरिक मामिलामा अवाञ्छित बाह्य चासो निम्ताउने त्रुटिपूर्ण कार्य भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘बैठकले प्रधानमन्त्रीबाट पठाइएको भनिएको पत्र सार्वजनिक गर्न माग गरेको छ ।’ प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्रीलाई पत्र पठाएको विषयमा सरकारले केही बताएको छैन । पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले एमालेले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । एमाले स्थायी समिति बैठकले प्रदेश कमिटिमा संयोजक तोक्ने लगायत गरेका निर्णय पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको ।
0 comments
Write Down Your Responses