अन्ततः नेपाली क्रिकेटको प्रतिबन्ध फुकुवा हुने एसिसीले टिप्पणी
अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) ले चार महिनाअघि नेपाललाई लगाएको प्रतिबन्ध फुकुवा गर्न एसियाली क्रिकेट महासंघ (एसिसी) ले लबिङ गर्ने भएको छ। श्रीलंकाको राजधानी कोलम्बोमा आइतबार बसेको एसिसी बैठकले नेपालको विषयमा यस्तो धारणा राखेको हो।
एसिसीका नवनियुक्त अध्यक्ष पाकिस्तानका साहरियार खानको अध्यक्षतामा बसेको बैठकमा नेपाली क्रिकेटमा लागेको प्रतिबन्धबारे कुरा उठेको थियो। एसिसीका पूर्व अध्यक्ष श्रीलंकाका थिलंगा सुमाथिपालाले नेपाली क्रिकेटलाई लागेको प्रतिबन्धबारे बैठकमै कुरा उठाएका थिए।
बैठकमा नवनियुक्त अध्यक्ष साहरियारसमेत भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) का अध्यक्ष अनुराग ठाकुर र बंगलादेश क्रिकेट बोर्डका अध्यक्षको पनि उपस्थिति थियो। एसियाका १६ राष्ट्र सहभागी बैठकमा थिलंगाले राजनीतिक हस्तक्षेपका कारण श्रीलंकामा पनि आठ वर्ष क्रिकेट अवरुद्ध भएको जानकारी दिए। नेपालको हकमा पनि त्यस्तै भएको र यसले नेपालको क्रिकेट महौल बिग्रिनेतर्फ संकेत गर्दै उनले नेपालको क्रिकेट जोगाउन सबै एसियाली राष्ट्रले सहयोग गर्नुपर्ने सुझाव दिए।
विवादका कारण आठ वर्ष तदर्थ समितिमा चलेको श्रीलंकामा डेढ वर्षअघि निर्वाचन भएको थियो। सोही निर्वाचनबाट थिलंगा अध्यक्ष निर्वाचित भएका थिए। बैठकमा नेपालका तर्फबाट प्रतिनिधित्व गरिरहेका नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचित कमिटीका अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुरेलले पनि आफ्नो कुरा राखेका थिए।
उनीहरूले नेपाली क्रिकेटमा भइरहेको राजनीतिक हस्तक्षेपबारे कुरा उठाउनेबित्तिकै सबै राष्ट्रले यस विषयमा आफूहरू पहिलेदेखि नै जानकार रहेको बताए। अन्तर्राष्ट्रिय क्रिकेटमै प्रभाव राख्ने भारतीय क्रिकेट बोर्डका अध्यक्ष अनुरागले नेपाली क्रिकेटको विकासमा सहयोग गर्न आफू लालायित रहेको उल्लेख गर्दै विवाद सुल्झाउन आफूले पनि प्रयास गर्ने बताए।
‘आइसिसी कार्यसमितिका ४ राष्ट्र (भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश) यहीँ छौं। यसमा सिङ्गापुर पनि छ। त्यसैले प्रतिबन्ध फुकुवा गर्ने विषयमा हामी आइसिसीसमक्ष दबाब दिनेछौं,’ उनको भनाइ उद्धृत गर्दै क्यान अध्यक्ष चन्दले सेतोपाटीसँग भने। चन्दले कोलम्बोबाट टेलिफोनमा जानकारी दिने क्रममा भने, ‘एसिसीका सबै राष्ट्रले हामीसँग काम गर्न इच्छा देखाएका छन्। त्यसैले उनीहरूले संयुक्त रूपमा आइसिसीलाई दबाब दिने बताए।’
गत वर्ष क्यानको निर्वाचन भएको थियो। जसलाई मान्यता नदिएर राष्ट्रिय खेलकुद परिषद (राखेप) ले रमेश सिलवालको अध्यक्षतामा तदर्थ कमिटी गठन गरेपछि नेपाली क्रिकेटमा विवाद निम्तिएको थियो। यसैको कारण राजनीतिक हस्तक्षेपलाई आधार बनाउँदै आइसिसीले चार महिनाअघि क्यानलाई निलम्बन गर्ने निर्णय गरेको थियो।
बैठकमा निर्वाचित कमिटीसँग एसिसीले काम गर्ने स्पष्ट बताएको चन्दले सेतोपाटीलाई जानकारी दिए। ‘आइसिसीले लगाएको प्रतिबन्ध हटाउन लबिङ गर्ने तर नहट्दासम्म हामीसँग मिलेर काम गर्ने कुरा भएको छ,’ एसिसीकै निम्तोमा साधारण सभामा भाग लिन कोलम्बो पुगेका चन्दले भने ।
आइसिसीले गत वर्ष एसिसीलाई भंग गर्दै एसियाली क्रिकेटको गतिविधि पनि आफैंले हेर्दै आइरहेको थियो। तर, गत शुक्रबारदेखि श्रीलंकामा सुरु भएको एसियाली राष्ट्रहरूको बैठकले एसिसीलाई पुनः ब्युँत्याउने निर्णय गरेपछि आइतबार नयाँ कार्यसमितिका लागि साधारण सभा भएको थियो। यसमा दुई वर्षका लागि पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष खानलाई नियुक्त गर्ने निर्णय भयो।
कोलम्बोको किङ्सबरी होटलमा बिहान ११ बजे भएको साधारण सभाबाट वरिष्ठ उपाध्यक्षमा सिंगापुरका इमरान ख्वाजा मनोनित भए। उनी एसोसिएट राष्ट्रको तर्फबाट प्रतिनिधित्व गर्दै वरिष्ठ उपाध्यक्ष भए। ख्वाजा आइसिसीको कार्यसमितिमा पनि सहभागी छन्। उनी एसोसिएट राष्ट्रको प्रतिनिधित्व गर्दै आइसिसीको कार्यसमितिको सदस्य पदमा नियुक्त छन्।
साधारण सभाले चारवटै टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका प्रतिनिधि स्वतः कार्यसमितिमा रहने व्यवस्था गरेको छ। पूर्ण सदस्य राष्ट्रको तर्फबाट थाइल्यान्ड र ओमानका अध्यक्षले कार्यसमितिको अगुवाइ गर्नेछन्। चीनलाई एसोसिएट राष्ट्रको प्रतिनिधिका रूपमा कार्यसमितिमा स्थान दिइएको छ।
त्यस्तै एसिसीको क्रिकेट विकास कमिटीको संयोजकमा पूर्व अध्यक्ष श्रीलंकाका थिलंगालाई मनोनित गरिएको छ। यसअघि शनिबार साँझ ५ बजे कोलम्बोको मेटल्यान्ड प्लेसमा एसिसीको कार्यालय विधिवत रूपमा उद्घाटन गरिएको थियो। आइसिसीले गत वर्ष एसिसीलाई भंग गर्नुअघि यसको कार्यालय मलेसियास्थित क्वालालम्पुरमा थियो। श्रीलंकामा सरेको एसिसीको कार्यालयको सम्पूर्ण खर्च दस वर्ष श्रीलंकन सरकारले बेहोर्ने बताएको छ।
0 comments
Write Down Your Responses