यसरी देखाईन मिराले कुमारीत्वको प्रमाणपत्र
![]() |
मिरा शर्मा प्रसाई |
° लघु कथा
प्रकाश सर द्रष्टा र श्रष्टा दुबै थिए। विश्वविद्यालयमा सामाजिक विषयमा कलात्मक र तार्किक ढङगले लेक्चर दिन माहिर मानिन्थे। उनका रचनाले सामाजिक सन्जालमा ब्यापकता पाएको थियो। हरेक रचनामा लैङ्गिक समानता र स्वतन्त्र यौन मनोविज्ञानले स्थान पाएकै हुन्थ्यो।
हट्टाकट्टा अनि शारीरिक र वौद्धिक सुन्दर भएकोले धेरै केटीहरु मरिहत्ते गर्थे। कतिलाई प्रेम गरे। कतिलाई टिस्यू पेपरझै प्रयोग पछि फालिदिए। सत्यवादी बौद्धिक ब्यक्तित्व भए पनि केटीको मामलामा उनी चुकेका थिए। आगोमा घ्यू पग्लेझैं पग्लिहाल्थे।
कुरै कुरामा एक दिन सहकर्मी विशालले भन्यो, ‘बुढो होलास अब बिहे गर।’
हेर विशाल! ‘केटी चाहीँ भर्जिननै चाहिन्छ है मलाई!’
हाहाहा! ‘भर्जिन भनेर निधारमा लेखिएको हुन्छ र भन्या यो त विश्वास हो विश्वास लभ ईज फेथ भने जस्तै’
उसले थप्यो, ‘तँ भर्जिन् छस् आफैंलाई सोध त एकफेर?’
केटी हेर्ने दिन दुबै ठाटिएर गए।
छोरी माग्न त्यो पनि सेलिब्रेटी जस्तो मान्छे आएकामा केटीका बुबा त्रिलोचन मक्ख भए।
‘बाबुहरूलाई मेरी छोरी कस्ती लाग्यो त? के विचार गर्नु भयो यहाँहरूले?’
‘दुबै जनालाई एकान्त दिने हो कि?’, विशालले भन्यो।
एकान्त? त्रिलोचन झस्किन्छन्।
‘दुईजनाले एसो कुरा गर्छन् भनेर नि बुबा।’
प्रकाश: सुलोचना तपाईँ खुलेर कुरा गर्न सक्नुहुन्छ मसँग। तपाईँले मलाई खुल्ला किताब
जस्तै पढ्नु भएको छ मेरा रचनाहरूमा। धेरै जसो रचना मेरै जीवनसँग मेल खान्छन्।’
‘मैले खोजेको जीवन साथीको दायरा भित्र पर्नुहुन्छ तपाईँ । तर मेरो अलिक फरक धारणा छ कृपया! अन्यथा नलिनुहोला। उमेरमा स्याल पनि घोर्ले हुन्छ भन्छन् तपाईँको प्रेम जीवनको बारेमा जान्न चाहन्छु।’
प्रकाशलाई घमन्ड थियो उसको व्यक्तित्वको अगाडि सबैले घुडा टेक्ने छन्। पुन: थप्यो, ‘तपाईँ भर्जिन रहेको सर्टिफिकेट बनाइराख्नुस्।’
माहासय, ‘तपाईँले भने अनुसार तपाईँका लेखरचनामा तपाईको आफ्नो जीवन छ। सोही अनुरुप मैले तपाईको चारित्रिक विशेषता मूल्यांकन गर्नसक्छु। म एक एजुकेटेड र मोडर्न केटी हुँ एसो भन्दैमा म अपवित्र छु भन्ने सोचाइलेनै तपाईँको बौदिकताको मापन गरिसकेको छ,’उनले अगाडि थपिन्,‘ मलाई खेद छ तपाईँको ढोङ्गी व्यक्तित्वप्रती।’
आफूप्रति पूर्वाग्रही नबन्न आग्रह गर्दै थियो प्रकाश। ‘सुलोचनाजी सुन्नोस् न ....।’
‘ठिक छ म तपाईँको शर्त मान्न तयार छु। तपाईँ आफू पनि भर्जिन रहेको प्रमाणपत्र पेश गर्नुहोला। सक्नु हुन्छ?’
सुलोचनाको शब्दले उस्को कानमा धेरै बेरसम्म ढ्याङग्रो ठोकीरह्यो।
0 comments
Write Down Your Responses