top_rightads

मातृभूमिमै विदेशीबाट मारिए नेपाली भिडियो सहित।

कञ्चनपुरको आनन्दबजार बिहीबार एकाएक युद्धभूमिजस्तै बन्यो । आफ्नै
भूमिमा कल्भर्ट बनाएको अपराध वापत एक नेपालीले ज्यान गुमाउनुपरेको छ
भने केही सुरक्षाकर्मीसहित नेपाली नागरिक घाइते बनेका
छन् । कसैको घरबाट भारतीयबाट लुटिएको छ ।

विहीबार बिहानैदेखि आनन्द बजारको
स्थलगत अवस्थाबारे बुझ्न जाँदा पाइएका तथ्य
यस्ता छन्ः
कञ्जनपुर जिल्लाको भारतीय
सीमा क्षेत्रमा पर्ने आनन्द बजार
पुनर्बास गाविसमा पर्छ । गाविसको नामै
पुनर्बास रहेको यो बस्ती
तत्कालीन राजा महेन्द्रले बसालेका
हुन् ।
दशगजामा नेपाली बस्ती
बसाउँदा सीमानाको रक्षा हुन्छ भन्ने
नीति अनुसार महेन्द्रले देशका
विभिन्न भागमा जस्तै यहाँ पनि
बस्ती बसालेका थिए ।
क्षेत्री बाहुन एवं जनजातिहरु
मिलेर बसेको यो बस्तीमा अन्ततः
भारतीयहरुले हमला गर्दा
नेपालीहरुले एकगठ भएर प्रतिरोध
गरेका छन् । र, यसक्रममा विहीबार
गोविन्द गौतम नाम गरेका ३० वर्षीय
युवा सहिद बनेका छन् ।
एसएबीको गोली लागेर मृत्यु भएका गोविन्द गौतम
आनन्द बजारमा नेपाली र भारतीयवीचको तनाव करिब
दुईसाता अघिदेखि नै सुरु भएको हो । दशगजा भन्दा करिब ५ सय मिटर नेपालतिर पर्ने
जमिनमा नगरपालिका एवं स्थानीयवासीले कलभर्ट निर्माण गरेपछि
भारतीय पक्षले त्यसको विरोध गर्दै आएको थियो ।
नेपाली पक्षले निर्माण गरेको कल्भर्ट दशगजा भन्दा निकैभित्र भए पनि
भारतीय पक्षले बनाउन नदिने धम्की दिँदै आएको थियो ।
हाल कल्भर्ट बनेको स्थानभन्दा दक्षिणतर्फ अर्थात पारिपटि्ट एउटा सामुदायिक वन छ,
जुन नेपालीहरुले नै उपयोग गर्दै आइरहेका छन् । दशगजा पारि पनि सानो
जंगल छ र त्यो भन्दा दक्षिणमा भारतीय गाउँ छ ।
गुुगल म्यापमा हेर्दा समेत कल्भर्ट बनाइएको स्थान नेपाली भूमिमा पर्ने
स्पष्टै देखिन्छ । भारतले यसमा अवरोध गर्नुपर्ने आधार केही पनि देखिँदैन ।
बुधबार भारतीय सीमा सुरक्षा बल (एसएसबी) का
बन्दूकधारीहरु एकाएक नेपाली भूमिमा प्रवेश गर्यो र
नेपालीहरुलाई कुटपिट गर्यो । पत्रकार हेमन्त न्यौपानेसहित केही
स्थानीयवासीहरु भारतीयको पिटाइबाट घाइते बने ।
अघिल्लो दिनको कुटपिटको विरोधमा विहीबार बिहानै स्थानीय
नेपालीहरु कल्भर्ट निर्माणस्थलमा भेला भए । उनीहरु
केहीबेर नेपाल-भारत सीमानामा आवत-जावतसमेत बन्द गरे ।
यही क्रममा पारिबाट भारतीयहरुको एक हुल आयो ।
केहीबेर दशगजामा दुबैतिरबाट ढुंगा हानाहान भयो । यसक्रममा आक्रोशित
नेपालीहरुले भारतीयहरुलाई लखेटे । नेपालीहरु के
महिला, वालवालिका, वृद्धवृद्धा, सबै भेला भएका थिए ।
भारतीयहरु लखेटिएको केहीबेरमै उताबाट एसएसबीको
फौज आयो । भारतीयहरुले एसइसबीको आड पाएर फेरि ढुंगामुढा
गर्न गर्न थाले । नेपालतर्फबाट पनि प्रतिवाद भयो ।
यही क्रममा एसएसबीले उताबाट फाइरिङ खोल्यो ।
प्रत्यक्षदर्शीहरुका अनुसार एसएसबीले २१ राउण्ड फायर गरेको
थियो ।

भिडियो:- 

स्थानीय ३० वर्षका गोविन्द गौतमको कम्मरमा गोली लाग्यो । उनलाई
धनगढीस्थित सीपी अस्पताल ल्याइपुर्याउँदा नपुर्याउँदै
अत्यधीक रक्तश्राबका कारण उनको निधन भयो ।
भारतीय कुटाइबाट घाइते भएका सुरेश थापाको बलौरी पोली
क्लिनिकमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको छ ।
त्यसैगरी बेलौरी सीमा प्रहरी कार्यालयमा
प्रहरी निरीक्षक राम खत्रीको मुखमा चोट लागेको छ ।
अर्का एक सई पनि घाइते भएका छन् ।
एसएसबीको गोली प्रहारपछि नेपालीहरु तितर-वितर भए ।
यही मौका छोपेर भारतीयहरुले स्थानीय श्याम गुरुङको
पसलमा तोडफोड र लुटपाट गरे । पीडितको भनाइ अनुसार त्यहाँ रहेका
सरसामान, खसी बाख्रा र मोटरसाइकल समेत भारतीयहरुले लुटेर
लगेका छन् ।
(यो पनि पढ्नुहोस्: नेपालीका घरमा पसेर भारतीयको लुटपाट,
बाख्रासमेत छाडेनन् )
विहीबार अपरान्हतिर आनन्द बजारमा जिल्ला प्रशासन कार्यालयका
अधिकारीहरु एवं प्रहरी प्रमुखहरु भेला भए । भारतीय
पक्षसँग दिनभरिजसो कुराकानी भयो, तर रातिसम्म कुनै निश्कर्ष निस्किएको
छैन ।
घटनास्थलमा एसएसबीका एसपी मनोजकुमार झा र डीएम
आकाश दीप आइपुगेका छन् । नेपालबाट कञ्चनपुरका प्रमुख जिल्ला
अधिकारी मनोहर प्रसाद खनाल र दुबै प्रहरी संगठनका
एसपीहरु भेला भएका छन् । तर, रात पर्दासम्म ठोस वार्ता हुन सकेको छैन ।

0 comments

Write Down Your Responses