top_rightads

मोरङमा बढ्दै छ चुनावी रौनक, चर्चामा को को छन् मेयर र उपमेयरका दाबेदार

मोरङ, २४ चैत– राजधानी काठमाडौं पछिको सवैभन्दाबढी ९ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा एक उपमहानगरपालिका सहित ९ नगरपालिका र ८ गाउँपालिका गरि १७ वटा स्थानीय तह कायम छन् । स्थानीय तहको निर्वाचनका लागि ५ लाख भन्दा बढी मतदाता छन् । ९ नगरपालिकाका ९८ र ८ गाउँपालिकाका ६१ वडाबाट गरि ८ सय २९ जना जनप्रतिनिधि निर्वाचित हुँदैछन् भने दलित र अल्पसंख्यकबाट थप ३४ जना मनोनित गर्दा जनप्रतिनिधिहरुको संख्या ८ सय ६३ पुग्ने जिल्ला निर्वाचन आयोगले जानकारी दिएको छ ।
एक नम्बर प्रदेशकै सवैभन्दा बढी मतदाता रहेको मोरङमा निर्वाचन नजिकिदै जाँदा मेयर र उपमेयरका आकांक्षीहरु समेत बढ्दै गएका छन् । विशेषगरि नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्रका उम्मेदवारहरुको नाम बढी चर्चामा छन् । मधेसी मोर्चा केन्द्रीय नेतृत्वको निर्णय कुरेर बसेको पाइन्छ भने राप्रपा जिल्ला निर्वाचन कार्यालयमा दर्ता हुन बाट बञ्चित भएको छ ।
विराटनगर उपमहानगरपालिका
नेपालकै ऐतिहासिक राजनीतिक थलोको रुपमा परिचित विराटनगर उपमहागरपालिकाको मेयर को बन्ला सवैको चासो यस तर्फ केन्द्रित देखिन्छ । वीपी कोइरालादेखि गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारीलगायतको राजनीतिक थलोका रुपमा परिचित विराटनगरको राजनीतिक चहलपहलले देशकै ध्यान केन्द्रित समेत गर्ने गरेको छ । नयाँ संरचना अनुसार साविकको वैजनाथपुर गाविस र वुधनगर गाविसका १,३ ५ वडा समावेश भएको विराटनगर उपमहागरपालिका ७७ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको छ । कुल २ लाख १४ हजार ६ सय ६३ जनसंख्या रहेको विराटनगर उपमहानगरपालिकामा १ लाख १४ हजार १ सय ७६ मतदाता छन् । स्थानीय तह पुनर्संरचना सँगै थपिएका गाविस र वडाहरुका कारण मतदाता संख्या बढेको हो ।
एमालेबाट विराटनगर उप–महानगरपालिकाको मेयरमा पूर्व सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितदेखि एमाले मोरङ अध्यक्ष विनोद ढकाल, पूर्व अध्यक्ष महेश रेग्मी र एमालेका नगर इञ्चार्ज सागर थापाको नाम बढी चर्चामा छ । उपमेयरमा सावित्रा रेग्मी, विमला दाहाल, शीला दीक्षित कार्की, शिल्पा निराला कार्की, सरस्वती खरेल र लीला रिजालको नाम चर्चामा छ ।
विराटनगर उपमहानगरपालिकाको मेयर पदका लागि सबै भन्दा बढी आकांक्षी कांग्रेसबाट देखिएका छन् । मोरङ कांग्रेसका सचिव नागेश कोइराला, नगर सभापति भीम पराजुली, फुलकुमार लालवानी र विश्वनाथ रिजाल, डा. डिला संग्रौलालगायतको नाम मेयरका रुपमा चर्चामा छ । उपमेयरमा भने सुनिता घिमिरे, प्रमिला थापा, रेखा पराजुली, विजेता अधिकारी, सुनकुमारी कार्की, विन्दा कार्की, रीता पोखरेल चर्चामा छन् ।
माओवादी केन्द्रले भने विराटनगर उपमहानगरपालिकाको मेयर पदका लागि भोगेन्द्र यादव र उपमेयरमा नमिता न्यौपानेको नाम सिफारिस तयारी गरिसकेको छ । यादव माओवादी केन्द्र बिराटनगरका इञ्चार्ज हुन् भने उपमेयरकी उम्मेदवार न्यौपाने विराटनगर नगर संयोजक हुन् ।
उर्लाबारी नगरपालिका
नयाँ संरचना अनुसार उर्लाबारी नगरपालिका मधुमल्ला ७,८ र ९ तथा राजघाट गाविस गाभेर बनेको हो । उत्तरपूर्वी मोरङमा पर्ने उर्लाबारी नगरपालिकाकमा ३५ हजार १० जना मतदाता छन् ।
उर्लावारीको मेयरमा एमालेबाट मान बहादुर श्रेष्ठ , भूपाल जिमी , गंगा खरेल,
गंगा बास्तोला, अग्नि भट्टराई र पुष्प ढकालको नाम चर्चामा छ । उप–मेयरमा मीना पौडेल र विद्या चाम्लिङको नाम चर्चामा छ । माओवादी केन्द्रका तर्फबाट मेयरका रुपमा राजेन्द्र पौडेल, प्रेम मिभक, अनुप राजवंशीलगायतको नाम चर्चामा छ ।
उर्लाबारीको मेयरमा नेपाली कांग्रेसबाट वीरवल थापा र जयधर्म आर्चाय, खड्ग फागो र भोलामान श्रेष्ठको नाम चर्चामा छ भने उपमेयरमा शोभा पालुङ र सीता कार्की आकांक्षी देखिएका छन् ।
लेटाङ नगरपालिका
अधिकांश पहाडी भूभाग रहेको लेटाङ नगरपालिकामा २१ हजार ४ सय २० जना मतदाता छन् । लेटाङ नगरपालिकाको मेयरमा एमालेबाट भूपेन्द्र लावती, घनश्याम खतिवडा, उपेन्द्र घिमिरे र डिल्लिमान तामाङको नाम चर्चामा छ भने उपमेयरमा दुर्गा भण्डारी, शान्ति पाख्रिन र सुनिता तिम्सिना चर्चामा छन् । नेपाली कांग्रेसबाट दीपकचन्द्र राई, शंकर राई र राजकुमार लामाको नाम चर्चामा छ । त्यसैगरी माओवादी केन्द्रबाट लेटाङको मेयरमा एक मात्र आकांक्षीका रुपमा गोपाल नेपालीलाई अघि सारिएको छ ।
पथरी शनिश्चरे नगरपालिका
साविकको पथरी शनिश्चरे नगरपालिका र हसन्दह गाविस जोडेर पथरी शनिश्चरे नगरपालिका बनाइएको हो । पथरी शनिश्चरे नगरपालिकामा मतदाता संख्या ४० हजार ५ सय ५५ रहेको छ ।
पथरी शनिश्चरे नगरपालिकामा एमालेबाट किशोर राई, यूवराज भण्डारी, मोहन नेउपाने, मोहन तुम्बापो, मान प्रसाद लिम्बु, रामकुमार बस्नेतको नाम चर्चामा छ भने उपमेयरमा कृष्णकुमारी राई कृष्णकुमारी विक र देवीमाया काफ्ले मध्ये एक सम्भावित उम्मेदवार देखिएका छन् ।
नेपाली कांग्रेसबाट गणेश खड्का, किरण थापा र माधव कोइरालाको नाम चर्चामा छ । माओवादी केन्द्रबाट मेयरमा जहरमान लिम्वू, विकास मगर, नेत्र पोखरेल र योशदा खतिवडाको नाम चार्चामा छ ।
बेलबारी नगरपालिका
साविकको बेलबारी नगरपालिकामा डाँगीहाट र बाहुनी गाविस समेटिएका छन् । यहाँ ४२ हजार ९ सय २ मतदाता छन् । बेलबारीको मेयरमा एमालेबाट ज्ञानेन्द्र सुवेदी, डीपी राई, इरान राई, राजकुमार बस्नेत र उपमेयरमा लिला गौतम, पार्वती बराल, हरिमाया खतिवडाको नाम चर्चामा छ ।
नेपाली कांग्रेसबाट मेयरमा राजकुमार लिम्बु, यज्ञ ढकाल, नगेन्द्र कट्टेल र रुकमणि धिमालको नाम चर्चामा छ । माओवादी केन्द्रबाट तिलक राई, पशुराम सुवेदी, रामप्रसाद राई र पुष्प चौधरीको नाम चर्चामा छ ।
सुन्दर हरैंचा नगरपालिका
साबिकका कोसीहरैंचा र सुन्दरदुलारी नगरपालिकालाई गाभेर सुन्दर हरैंचा नगरपालिका निर्माण भएको छ । सुन्दर हरैचा नगरपालिकामा ५३ हजार ८ सय ७६ मतदाता छन् ।
सुन्दरहरैंचा नगरपालिकाको मेयरमा नेकपा एमालेबाट अजम्बर राई, अर्जुन अधिकारी, केदार गुरागाई, राजकुमार ओझा, पितकुमार श्रेष्ठ र उपमेयरमा धना तामाङ, पुष्पा तामाङ, टिका भट्टराइको नाम चर्चामा छ ।
नेपाली कांग्रेसबाट शिव ढकाल, लोकप्रसाद संगौला, गोपाल थापा र चैतन्य सापकोटाको नाम चर्चामा छ । माओवादी केन्द्रबाट नवराज चापागाई, मित्रसेन योञ्जन र कुमार राईको नाम मेयरका रुपमा चर्चामा छ ।
रतुवामाई नगरपालिका
साविकको बरंडगा गाविसका १, ४, ५ र ७ नम्बर वडाहरु, झुर्किया, महादेवा, गोविन्दपुरका १,३,४,७ वडा र सिजुवा गाविस एवं इटहरा गाविस मिलाएर रतुवामाई नगरपालिका निर्माण गरिएको हो । यहाँ मतदाता संख्या ४२ हजार ४ सय रहेको छ ।
रतुवामाई नगरपालिकाको मेयरमा एमालेबाट दुर्गाबहादुर  बिष्ट, रुपनारायण मिश्र, टेकेन्द्र पोमु, विश्वनाथ राय, गोपी चापागाई,मेघराज कट्टेल, शान्तिराम बराल र उपमेयरमा चन्द्रकला भण्डारी र इन्दिरा बरालको नाम चर्चामा छ । नेपाली कांग्रेसबाट नागेश्वर सिंह, खड्ग चुम्वाङ र रविन राईको नाम मेयरमा चर्चामा छ । माओवादी केन्द्रबाट मेयरमा प्रकाश पौडेल, सुनील सिंह र जुब्बा सोरेनको नाम चर्चा छ ।
सुनवर्षी नगरपालिका
साविकको रंगेली नगरपालिकाका ९, १० र ११ नम्बर वडाहरुका साथै अमरदह, गोविन्दपुर र बरंडगाका केही वडाहरु र डाइनिया गाविसलाई गाभेर सुनवर्षी नगरपालिका बनाइएको छ । यो नगरपालिकामा २८ हजार ८ सय ९१ मतदाता छन् ।
सुनवर्षी नगरपालिकामा मेयरमा एमालेबाट कप्लेश्वर राजवंशी, हसन इमाम बक्स, गोपाल थापा, बोधराज वुढाथोकीको नाम चर्चामा छ । काग्रेसका तर्फबाट मेयरमा देबेन्द्र बस्नेत, शिवनारायण सिंह, कालीप्रसाद दास र रमानन्द साहको नाम चर्चामा छ । माओवादी केन्द्रबाट जयन्त दास, श्रवण राजवंशी र सुन्दर तामाङ्गको नाम चर्चामा छ ।
रंगेली नगरपालिका
साविक रंगेली नगरपालिकाका १ देखि ८ नं वडामा बबियाबिर्ता र दर्वेशा गाविसलाई गाभेर रंगेली नगरपालिका निर्माण भएको हो । रंगेली नगरपालिकामा ३० हजार ३ सय ९१ मतदाता छन् ।
रंगेली नगरपालिकाको मेयरमा एमालेका तर्फबाट सन्तोष शाह, मनोज अग्रवाल र दिनेश ठाकुरको नाम चर्चामा छ । नेपाली कांग्रेसका गोपाल सेडाई, मोदराज घिमिरे र जगन्नाथ मण्डल, रामनारायण मण्डल र सुमन कुँवरको नाम चर्चामा छ । माओवादी केन्द्रबाट दिलिप बगडिया, रामचन्द्र मण्डल र डिल्ली घिमिरेको नाम चर्चामा छ ।
खुलेर आएका यी नामसँगै राप्रपाले समेत स्वतन्त्रकै हैसियतबाट पनि निर्वाचनमा भाग लिने बताइएको छ । राप्रपाका तर्फबाट पनि स्थानीय तहमा उम्मेदवारी पर्ने जिल्लातहका नेताहरुको भनाई छ । यस्तै मधेशी मोर्चा आवद्ध दलहरु समेत निर्वाचनमा सहभागि हुने भित्रभित्रै तयारीमा जुटीरहेका छन् । अहिले आन्दोलनकै चरणमा रहँदा पनि मोर्चाले संगठन विस्तारलगायतको कामलाई निरन्तरता दिदै आएको छ ।
उम्मेदवारका आकांक्षी धेरै भए पनि टिकट भने एकएकजनाले मात्र पाउने हुँदा पार्टीभित्र पनि गुटका हिसावले कसको लविङ दह्रो हुन्छ भन्ने विषयले चर्चा पाउने गरेको छ । विहान चोक र चिया पसलमा हुने गफदेखि एक आपसमा हुने भेटमा पनि विभिन्न पार्टीबाट उम्मेदवारका आकांक्षीकै भन्ने चर्चा हुने गरेको छ ।


,

0 comments

Write Down Your Responses