डेढ वर्षअघि बाहुबली : द बिगनिङ प्रदर्शन भएसँगै फिल्मी जगत्मा सधैँ ‘हटकेक’ बनिरह्यो, ‘कटप्पाले बाहुबलीलाई किन मार्यो ?’ यसकै सेरोफेरोमा सामाजिक सञ्जालमा सयौँ ट्रोल र जोक्स बने । त्यसैले बाहुबली २ : द कन्क्लुजन सर्वाधिक प्रतीक्षित बन्नुमा एमएस राजामौलीको अदभुत भिजुअल इफेक्ट्स र कथावाचनसँगै यो रहस्यको पनि दरिलो भूमिका थियो । र, चार सय करोड भारतीय रुपियाँ लागतमा निर्माण भएको यो फिल्म हेर्न दर्शक कति आतुर थिए भन्ने यसको चौतर्फी ‘ग्रान्ड ओपनिङ’ले देखाइसकेको छ । तर राजामँैलीले जसरी पहिलो भागमा दर्शकलाई चकित तुल्याएका थिए, दोस्रो भागमा त्यसले निरन्तरता पाउला ? यो शंका उत्तिकै टड्कारो रुपमा उठेको थियो । जसलाई चिर्न निर्देशक सफल भएका छन् । कथा, चरित्रीकरण, अभिनय, जादुई दृश्य र दमदार एक्सनमा दर्शकको अपेक्षा अपुरो रहन्न । मुख्य चरित्रद्वय प्रभाष र राना दगुबत्तीबीचको द्वन्द्व अझ आकर्षक छ ।
पहिलो भाग जहाँ अन्त्य भएको थियो, बाहुबली २ को कथा त्यहीँबाट सुरु हुन्छ । अर्थात कटप्पा (सत्यराज)ले मयुस्मती राज्यका महाराजा अमरेन्द्र बाहुबली (प्रभाष)को हत्या कसरी भएको थियो भन्ने महेन्द्र बाहुबली (प्रभाष)लाई भन्दैछन् । सोही क्रममा कथा फ्ल्यासब्याकमा जान्छ । जहाँ, अमरेन्द्र बाहुबलीको राज्याभिषेकको तयारी हुँदै छ तर उनका भाइ भल्लालदेव (राना दगुबत्ती) यसको पूर्ण विपक्षमा हुन्छन् । बाबुको सहयोगमा उनी आफैँ राज सिंहासनमा बस्ने प्रपञ्च रच्छन् । कतिसम्म भने उनले महारानी शिवागामी (राम्या कृष्णन)लाई विश्वासघात गर्दै बाहुबलीको हत्या योजना बुन्छन् । यही बीचमा प्रवेश हुन्छ, देवसेना (अनुष्का शेट्टी) को । अब कुन परिस्थितिका बीच दृष्ट स्वभावका भल्लालदेवले प्रजामाझ प्यारा अमरेन्द्र बाहुबलीको हत्या गर्छन् ? र, त्यसको बदला उनका छोराले कसरी लिन्छन् ? यिनै सवालको चित्तबुझ्दो जवाफसँगै फिल्म सकिन्छ ।
एउटा भनाइ चर्चित छ, फिल्ममा जेजस्तो दृश्य देखाए पनि हुन्छ तर त्यो विश्वसनीय हुनुपर्छ । बाहुबली २ यसको निकै प्रभावशाली उदाहरण बनेको छ । वास्तविक जीवनमा कल्पनै गर्न नसकिने दर्जनौँ दृश्य भए पनि ती कथा र पात्र अनुरुपकै छन् र प्रस्तुति त्यति नै शानदार । जसका कारण फिल्म हेरिरहँदा पूर्णरुपमा आत्मसात् गर्न सकिन्छ । पटकथाकारसमेत रहेका निर्देशक राजामौलीले पूर्वीय दर्शनमा आधारित यस कथालाई बलियो वाचनशैली र दृश्यांकनमार्फत अन्तर्राष्ट्रियकरण गरेका छन् । किनभने प्रविधिको उच्चतम प्रयोगमार्फत मिथक र इतिहासको यति बुलन्द समिश्रण गरिएको सिनेमा संसारमै विरलै बनेका छन्/बन्छन् । यसमा न भिजुअल इफेक्ट्सले कथाको वहाब बिगारेको छ, न कथालाई मूर्तता दिन प्रविधि प्रयोगमा कन्जुस्याइँ गरिएको छ ।
एक्सन कोरियोग्राफी पहिलो भागभन्दा निकै सिर्जनात्मक लाग्छ । पानी र नरिवलको रुखको प्रयोग त पूरापूर अद्वितीय । युद्धमा वाण र तरबारलाई त्यतिकै आकर्षक ढंगले चलाइएको छ । राजदरबारको भव्यतामा आँच आउन दिइएको छैन । मध्यान्तरसम्मै कथा फ्ल्यासब्याकमा जान्छ अर्थात् अमरेन्द्र बाहुबलीको हत्याको कारण खुल्दैन । भनिहालूँ, त्यो रहस्यले चक्मा दिँदैन तर ‘टिट्रमेन्ट’ यति संवेदनशिल शैलीमा गरिएको छ कि जोकोहीको आँखा रसाउँछ । भावनाको गहिराइमा पुग्न प्रविधिको सहारा लिने राजामँैलीको काइदा साँच्चै तारिफयोग्य छ । अनि यसपटकको भीएफएक्समा त्रुटिको भेउ पाइन्न, एकदमै वास्तविक र आँखा लोभ्याउने खालको छ । तर, पछिल्लो आधा घन्टामा महेन्द्र बाहुबली र भल्लालदेवबीचको मनोवैज्ञानिक रस्साकस्सी फितलो लाग्छ । त्यस्तै, बाहुबली र देवसेनाको प्रेमिल सम्बन्धमा धेरै दृश्य खर्चिएको छैन । हिन्दीमा डब गरिएकाले कतिपय संवादको ‘लिपसिङ’ गडबड भएको छ । केके सेन्थिलको खिचाइ सानदार छ । गीत र पृष्ठभूमि संगीतले रोचक बनाएको छ ।
कलाकारको दमदार अभिनय बाहुबली २ को अर्को सशक्त पाटो हो । बाबु र छोरा दुवै भूमिकामा प्रभाष निपुण लाग्छन् । उनको शारीरिक बनोट, बोलीको वजन, भावभंगिमामा खोट लगाउन सकिन्न । उनको उपस्थिति चामत्कारिक छ । दगुबत्ती पनि त्यतिकै शक्तिशाली रुपमा पर्दामा प्रस्तुत भएका छन् । एउटा दुष्ट र बलियो राजामा हुनुपर्ने सबै गुणले भरिएका छन् उनी । अनुष्काको अलग रुप र एक्सनले दर्शकको मन जित्छ । राम्या कृष्णन त बोल्नै पर्दैन, आँखाबाटै उनको अन्तरमनको द्वन्द्व चाल पाइन्छ । कटप्पा बनेका सत्यराज चाहिँ प्रभाषपछि दर्शकको मानसपटलमा रहिरहने कलाकार हुन् । शंकै छैन, बाहुबली, भल्लालदेव र कटप्पा हिन्दी फिल्म इतिहासकै ‘अँइकोनिक’ पात्र हुनेछन् ।
बाहुबली : द बिगनिङले जसको मन जितेको छ, उनीहरूले त यो फिल्म हेर्ने नै भइहाले । आखिर, कटप्पाले बाहुबलीलाई मार्नुको कारण जान्न को चाहिँ हतारिएको नहोला र ? राजामौलीको निर्देशकीय जादू अनि प्रभाषकै लागि पनि बाहुबली २ : द कन्क्लुजन छुटाउनु हुन्न । पैसा र समय दुवैको सदुपयोग हुनेछ ।
-साभार
0 comments
Write Down Your Responses